धादिङ : प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणनामा धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा घण्टी चुनाव चिन्हका आशिका तामाङले ४३१७ मत सहित अग्रता लिएको छ ।
सुर्य चुनाव चिन्हका भुमि त्रिपाठीले २०९४ मत सहित दोश्रो, रुख चिन्हमा कृष्ण रिजाल (११८६) र तारा चिन्हमा राजेन्द्र पाण्डे (११२४) स्थानमा हुनुहुन्छ ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भने सुरु हुन नपाउँदै रोकिएको छ । सर्वदलीय बैठकमा तारा चिन्हका राजनीतिक दलको उपस्थिति नरहेको भन्न्ने बिषयमा विवाद सुरु भएपछि सर्टिङ गरेर गन्न सुरु गरेको गणनाकार्य रोकिएको हो ।
बैठकमा उम्मेदवार आफै उपस्थित रहेको भनिएपनि नेकपाका नेता मनराज भण्डारीले आफ्नो दललाई खबर नै नगरेको भन्दै आपत्ति जनाएपछि रुवीभ्याली गाउँपालिकाबाट गन्न सुरु गरिएको मतगणना रोकिन पुगेकोहो ।
धादिङमा कुल २ लाख ७५ हजार २ सय ८० मतदाता छन् । सहायक निर्वाचन अधिकृत राजेन्द्र लुइटेलका अनुसार धादिङको दुबै क्षेत्रमा कुल एक लाख ५८ हजार ३ सय ८४ मत खसेको छ ।
यो ५७ दशमलव ५३ प्रतिशत हो । त्यसमध्ये क्षेत्र नम्बर १ मा ८५ हजार ३ सय ३३ र क्षेत्र नम्बर २ मा ७३ हजार ५१ मत खसेको हो ।
मतगणनाको लागि खटिएका उम्मेदवारका प्रतिनिधिहरुका अनुसार एउटा गणनास्थलमा एक हजार मत गन्न सरदर एक घण्टा ३० मिनेट लाग्नेछ ।