धादिङ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नं. १ मा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार गल्छी गाउँपालिका तथा थाक्रे गाउँपालिकाका केही वडाको मतगणना सम्पन्न हुँदा घन्टी चिन्हका उम्मेदवार आशिका तामाङ अग्रस्थानमा देखिएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार गल्छी गाउँपालिकाका सबै वडा र थाक्रे गाउँपालिकाका वडा नं. १, ३ र ११ को मतगणना सकिँदा आशिका तामाङले ९ हजार १५७ मत प्राप्त गरेकी छन्।
त्यसैगरी सूर्य चिन्हका उम्मेदवार भूमि प्रसाद त्रिपाठीले ४ हजार २४४ मत प्राप्त गरेका छन्। तारा चिन्हका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले २ हजार ७२५ मत पाएका छन् भने रुख चिन्हका उम्मेदवार कृष्ण रिजालले २ हजार ५५२ मत प्राप्त गरेका छन्।
यस मतपरिणामसँगै आशिका तामाङले निकटतम प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तर बनाएकी छन्। बाँकी क्षेत्रको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ।