धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नम्बर १ मा रास्वपा (घण्टी चिन्ह) कि आशिका तामाङले अग्रता कायम राखेकी छिन् ।
पछिल्लो प्रारम्भिक मतगणना अनुसार गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका र गजुरी गाउँपालिकाका वडा नं १, २, ३ र ८ को मतगणना सम्पन्न भएको छ। हालसम्मको नतिजा अनुसार रास्वपाकी उम्मेदवार तामाङले प्रतिस्पर्धीहरूलाई निकै ठूलो मतान्तरले पछाडि पार्दै आफ्नो अग्रतालाई कायम राखेकी छिन् ।
तामाङले १७,६३० मत प्राप्त गरेकी छिन् । उनीलाई पछ्याउँदै नेकपा एमालेका भूमि त्रिपाठीले ७,१५२ मत, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र प्रसाद पाण्डेले ५,४०९ मत र नेपाली कांग्रेसका कृष्ण रिजालले ३,७०५ मत प्राप्त गरेका छन् ।
गल्छी र थाक्रे जस्ता ठूला गाउँपालिकाहरूको मतगणना सकिँदा तामाङले प्रतिस्पर्धी त्रिपाठीभन्दा १०,४७८ मतको फराकिलो अन्तर बनाएकी छिन् । आसिका तामाङको यो निरन्तरको अग्रताले धादिङ १ मा नयाँ राजनीतिक तरङ्ग पैदा गरेको छ।