जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक 
राष्ट्रिय समाचार समिति

फाल्गुन २९, २०८२

मनोज अधिकारी , इलाम : गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन् । यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन् । यसरी फर्किनेहरू सम्झना मात्र बोकेर फर्किँदैनन्, साथमा केही न केही कोसेली बोक्छन् । कोसेलीका रूपमा ललिपप, छुर्पी, बम्बइसन, चिया, अकबरेलगायत स्थानीय उत्पादन लिएर मात्र पर्यटनकहरू फर्किने गरेका छन् ।

अन्तु घुमेर फर्कंदै गरेका पर्यटक समूह सूर्योदय–१० स्थित फिक्कल बजारको पसलअगाडि उभिन्छन्, आफूलाई मन पर्ने मिठाईलगायत कोसेली छान्छन् र लिएर जान्छन् । यस्तै अवस्थामा भेटिएका चितवनका रोशन सापकोटाले भन्नुभयो, “साथीहरूले इलामबाट रित्तो नफर्किँनु है भनेका छन् । धेरैलाई यहाँको ललिपप मनपर्दो रहेछ । साथीहरूको मागअनुसार सामान किनिरहेको छ । जति हे¥यो, त्यत्ति किनौँ किनौँ जस्तो लागिरहेको छ ।”

फिक्कल बजारमा लहरै सजिएका पसलहरूमा छुर्पी, घ्यू, चिया, अकबरे खुर्सानीसँगै ललिपप र बम्बइसन जस्ता उत्पादन बिक्रीका लागि राखिएका छन् । कतिपय पसलमा त पर्यटकहरूले कोसेली किन्न पालो नै पर्खिनुपर्छ । स्थानीय व्यापारी सुजन सापकोटा भन्नुहुन्छ, “सामान्य दिनमा पाँच–दस हजारको बिक्री हुन्छ । ‘सिजन’ सुरु भएपछि भने व्यापार निकै बढ्छ । पोहोर त दिनकै ३० हजारसम्मको कोसेली बिक्री भएको थियो ।”

स्थानीय व्यापारीका अनुसार इलाम आउने अधिकांश पर्यटकले कुनै न कुनै कोसेली किनेर लैजाने चलन नै बसिसकेको छ । “यहाँ आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन, छुर्पी, ललिपपलगायत कोसेली पनि किनेर लैजानुपर्छ भन्ने धारणा नै बनेको छ”, व्यापारी अमीर आचायले भन्नुभयो ।

काठमाडौँमा व्यवसाय गर्दै आउनुभएका दीपक खड्का पनि यहाँ भेटिनुभयो । उहाँ आफू इलामे कोसेलीका नियमित ग्राहक भएको बताउनुहुन्छ । “कोही इलामबाट काठमाडौँ आउँदैछ भन्ने थाहा पायो भने ललिपप र छुर्पी मगाइहाल्छु । यहाँ आफैँ आएको बेला त झन् छोड्ने कुरै भएन । घरमा सबैजना इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्”, उहाँ भन्नुहुन्छ ।

दूध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसन यहाँका घरेलु उद्योग प्रवद्र्धनमा निकै टेवा पुगेको छ । गाउँगाउँमा यी मिठाई उत्पादन हुने क्रम बढ्दो छ । सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनका अनुसार यी उत्पादन ‘इलाम ब्रान्ड’का रूपमा चिनिन थालेका छन् ।

जिल्लामा करिब दुई दर्जन ललिपप उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादित मिठाईको माग स्थानीय बजारसँगै काठमाडौँ र भारतसम्म हुने गरेको उद्यमी शिवलाल प्रधान बताउनुहुन्छ । सानो प्याकेट ललिपप रु ५० र ठूलो प्याकेट रु १०० मा बिक्री हुन्छ । उपहारका लागि आकर्षक रूपमा ‘प्याकेजिङ’ गरिएका ‘गिफ्ट ललिपप’ पनि बजारमा उपलब्ध छन् ।

इलाममा दुग्धजन्य उद्योगको दायरा पनि विस्तार हुँदै गएको हो । जिल्लाका १८ चिज कारखानाले दैनिक करिब २७ हजार लिटर दूध सङ्कलन गर्छन् । स्थानीय बजारमा पाँच हजार लिटर दूध खपत हुने गरेको छ भने छुर्पी उद्योगले दैनिक १५ हजार लिटर दूध प्रयोग गर्छन् । ललिपप र बम्बइसन उद्योगले करिब पाँच हजार लिटर दूध खपत गर्छन् भने तीन हजार लिटर दूध भारतीय बजारमा समेत निर्यात हुने गरेको तथ्याङ्क छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा १८ चिज कारखाना, करिब १५० छुर्पी उद्योग र १३ दुग्ध मिठाई उद्योग सञ्चालनमा छन् । यहाँ वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ भने ३३ हजार ३७१ उन्नत जातका गाई पालिएका छन् ।

पर्यटकीय गतिविधिले यस्ता उद्योग र स्थानीय उत्पादन प्रवर्द्धनमा टेवा पुगिरहेको केन्द्र प्रमुख रागवेन्द्र तिवारीको भनाइ छ । “पयर्टकीय गतिविधिले यहाँका चियाबारी, पर्यटकीय क्षेत्र प्रचार मात्रै भइरहेको छैन, स्थानीय उत्पादनको बजारीकरण पनि भइरहेको छ । यसले स्थानीय साना उद्यमीको जीविकोपार्जन र व्यवसाय विकासमा पनि टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल स्थानीय उत्पादन प्रवद्र्धनका लागि काम भइरहेको बताउनुहुन्छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय उत्पादकलाई प्रोत्साहनका लागि अनुदान दिने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।

“पर्यटकीय गतिविधि बढेसँगै यहाँ उत्पादन पनि बढिरहेको छ । उत्पादन वृद्धि र बजार विस्तारका लागि अन्य पालिकासँग पनि सहकार्य गर्ने नीति छ । त्यसका लागि विगतमा पनि केही पहल भएका छन्, अब आगामी आर्थिक वर्षमा थप योजना अगाडि सार्छौं । स्थानीय उत्पादन प्रवर्द्धनका लागि अनुदानमा आधारित नीति अगाडि सार्ने कि भनेर छलफलमै छौँ । बजार विस्तार र स्थानीय उत्पादकले लाभ पाउने गरी काम हुन्छ”, कार्यवाहक प्रमुख बरालले भन्नुभयो ।

यसरी हेर्दा यहाँको पर्यटन केवल दृश्यमा सीमित छैन, स्थानीय किसान तथा व्यवसायीको सशक्तीकरणको बलियो आधार बनिरहेको छ । चियाबारीको हरियाली र अन्तुको सूर्योदयसँगै यहाँको मिठास बोकेको कोसेली पनि पर्यटकको झोलामा भरिएर देशका विभिन्न ठाउँसम्म पुगिरहेको छ । यस्ता उत्पादनको थप ‘ब्राण्डिङ’ र बजारीकरणमा लगानी गर्न सके अझ धेरै लाभ लिन सकिने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तोलामा एक हजार तीन सयले घट्यो

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

बागमती प्रदेशसभाको बैठक बस्दै नीति कार्यक्रम प्रस्तुत हुँदै

बजार सुन्दर बनाउन राखिएका गमला अधिकांश भताभुङ्ग

विदाको दुई दिनमा चार लाख भक्तजन पुगे नृसिंहधाम

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति