भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै  
राष्ट्रिय समाचार समिति

चैत्र १७, २०८२

भोजपुर : भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ ।

भोजपुर नगरपालिका-१२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडक भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । यस सडकको सबैभन्दा विशेषता भनेकै यसको नागबेली आकृति हो । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडक दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउनेका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा साझा हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको स्थानीयको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन आकर्षक बनाउने भएकाले यहाँ पुग्ने पर्यटकले समय मिलाएर दृश्यावलोकन गर्ने गरेका छन् ।

स्थानीयका अनुसार यो सडकले कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषिउपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । साथै, सडक सञ्चालनमा आएपछि यहाँको व्यापार-व्यवसाय पनि विस्तार हुन थालेको छ ।

सडक छेउमा विश्रामस्थल, दृश्यावलोकन स्थल (भ्यू प्वाइन्ट) निर्माण, सूचना बोर्ड जडान गरिएमा यात्रु तथा पर्यटकलाई सहजता हुने स्थानीयको भनाइ छ । आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार गर्न सकिएमा भोजपुर–बेहेरे सडक केबल यातायात मार्गमा सीमित नरही प्राकृतिक सौन्दर्य अवलोकनका लागि देशकै एक आकर्षक गन्तव्यका रूपमा स्थापित हुनसक्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना 

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

राजस्थानको प्लेअफ सम्भावना कायम

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति