काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् ।
गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै उनले गृह मन्त्रालयबाट बिदा भएका हुन् । राजीनामा दिएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी गराएका छन् । उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको भनेका छन् । उनले पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको बताएका छन् ।
गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक देखिएका उनी केही दिनअघि भने आफ्नै विवादित लगानीका कारण आलोचित बनेका थिए । राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेपछि बाध्य भएर बुधवार राजीनामा दिएका हुन् ।