काठमाडौं । देशका विभिन्न स्थानमा बढ्दै गएको डढेलोको असर काठमाडौं उपत्यकाको वायुमण्डलमा स्पष्ट देखिन थालेको छ। पछिल्ला दिनमा वर्षा अभाव र सुक्खा मौसमका कारण डढेलोका घटना बढेसँगै उपत्यकामा वायु प्रदूषण पनि तीव्र रूपमा वृद्धि भएको हो।
एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बढेर १९६ पुगेको छ। यससँगै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा सूचीकृत भएको छ। बिहीबार भने एक्युआई अझै बढेर २४७ पुगेको थियो, जुन ‘अत्यन्त अस्वस्थ’ तहमा पर्छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुनु, हावाको गति कम हुनु र तापक्रम बढ्नुजस्ता मौसमी अवस्थाले प्रदूषित कणहरू वायुमण्डलमै थुप्रिएको र उपत्यकामा वायु प्रदूषण बढेको जानकारी दिए।
वातावरण युवा अभियन्ता राजन थापाले डढेलोबाट निस्कने धुवाँ, धुलो तथा सुक्ष्म कण (पीएम २.५)ले वायुमण्डललाई गम्भीर रूपमा प्रदूषित बनाउने जानकारी दिए। देशभर फैलिएको वायु प्रदूषणको अवस्थाबारे टिप्पणी गर्दै थापाले पछिल्लो तथ्याङ्कले व्यापक र गम्भीर प्रदूषणको अवस्था देखाएको बताए।
एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। स्वास्थ्य विज्ञहरूले प्रदूषण बढेको समयमा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र सुरक्षित रहन सुझाव दिएका छन्।