ग्रामीण भेगको प्रेमकथा ‘काजी’
सम्बाददाता

बैशाख १९, २०८३

काठमाडौ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी चलचित्र ‘काजी’ देखाइएको प्रेम कथा भिन्न रहेको बताउनुभएको छ ।

आगामी जेठ ८ गतेदेखि प्रदर्शन हुने फिल्मको बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेता कार्कीले चलचित्रमा देखिएको ग्रामिण भेगको प्रेमकथा ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने खालको हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले काजी भन्नेबित्तिकै गाउँको मुखिया वा ठूलाबडालाई बुझ्छौँ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो । काजी परिवारबाट भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको निस्वार्थ प्रेमको कथा हो । अहिलेको प्रविधिले धेरै कुरालाई सहज बनाएको समयमा काजीको प्रेमकथाले भावनात्मक रूपमा जोड्छ ।”

चलचित्रका निर्देशक लक्ष्मण रिजालले चलचित्र ‘कायरा’ निर्देशन गरेको झन्डै आठ वर्षपछि चलचित्र ‘काजी’मार्फत निर्देशनमा पुनः फर्किएको बताउनुभयो । “यसपटक मैले ग्रामीण परिवेशमा आधारित प्रेमकथा ल्याउँदैछु, जसले निस्वार्थ प्रेमलाई प्रस्तुत गर्छ । अहिलेको पुस्ताका लागि यो प्रेम कथा नयाँ हुनेमा विश्वस्त छु । प्रेमको नयाँ कथ्यशैली प्रस्तुत गर्ने कोसिस गरेको छु”, निर्देशक रिजालले भन्नुभयो ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गर्नुभएको हो । उक्त चलचित्रमा अभिनेता कार्कीसँगै केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदीलगायतको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजले पटकथा लेख्नुभएको उक्त चलचित्रमा चिन्तन राजभण्डारीले छायाङ्कन निर्देशन, कालीप्रसाद बास्कोटाले सङ्गीत सिर्जना, सुजिल कर्माचार्यले पाश्र्व सङगीत, कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
सम्बाददाता