काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले आइतबार काठमाडौंको मैतीघर मण्डलामा ऐक्यबद्धता र्याली तथा विरोध प्रदर्शन गरेको छ ।
सञ्चार क्षेत्रमा भइरहेका दमन, हस्तक्षेप र विभिन्न प्रकारका दबाबको विरोधमा महासङ्घले आफ्नो आन्दोलनको स्वरूपअनुसार यो कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा बोल्दै महासङ्घकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनाहरूमा उल्लेख्य वृद्धि भएकोमा गम्भीर चिन्ता व्यक्त गरिन् ।
महासङ्घको अनुगमन अनुसार गत वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने यस वर्ष यो सङ्ख्या बढेर १३१ पुगेको उनले बताइन् ।अध्यक्ष शर्माले भनिन्, ‘वर्तमान सरकारले १०० दिन पूरा गर्दा पनि प्रेस जगतका लागि उत्साहजनक वातावरण बन्न सकेको छैन । बरु राज्यका गतिविधिले हामीलाई थप सशङ्कित बनाएको छ ।’
सरकारी विज्ञापन र सूचनाहरू मात्र सरकारी सञ्चार माध्यमलाई उपलब्ध गराउने सरकारको सचिवस्तरीय परिपत्रले निजी सञ्चार माध्यममाथि ‘आर्थिक नाकाबन्दी’ लगाएको महासङ्घको ठहर छ । यसले लोकतन्त्रको चौथो अङ्ग मानिने मिडियाको मुख थुन्ने प्रयास गरेको र हजारौँ श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिएको उनको जिकिर छ ।
त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकारहरूमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा दर्ता गर्ने र प्रहरीबाट समाचार स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोप्रति पनि महासङ्घले आपत्ति जनाएको छ ।
अध्यक्ष शर्माले यसलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र लोकतन्त्रका लागि ‘खतराको घण्टी’ भनेर टिप्पणी गरिन् । उनले भनिन्, ‘पत्रकारले समाचार लेखेकै र बोलेकै आधारमा राज्य तथा गैर–राज्य पक्षबाट दमन भइरहेको छ । लेख्ने र बोल्ने अधिकारलाई कुण्ठित गर्ने प्रयास जारी छ ।’
र्यालीमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दवाडी, नेपाल बार एशोसिएसनका अध्यक्ष विजय मिश्र, नागरिक समाजका अगुवाहरू तथा विभिन्न प्रेस सङ्गठनका प्रतिनिधिहरूको सहभागिता थियो ।