नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

बैशाख २७, २०८३

काठमाडौँ। संयुक्त अरब इमिरेट्स युएईस्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको सहभागिता थियो । कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो ।
उहाँले कम्पनीमा काम गर्दा पालना गर्नुपर्ने नियम, वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोग तथा नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराउनुभएको थियो ।
साथै राहदानी, इमिरेट्स आइडी, श्रमिकको परिचयपत्रलगायत व्यक्तिगत कागजात सुरक्षित राख्न र साइबर अपराध तथा आर्थिक ठगीबाट जोगिन सचेत रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा विदेशमा हुने खोजतलास, उद्धार, व्यवस्थापन, क्षतिपूर्ति तथा श्रमिक सहायतासम्बन्धी निवेदन नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा सञ्चालित अनलाइन प्रणालीमार्फत दर्ता गर्न सकिने जानकारी दिइएको थियो ।
राजदूतावासका तृतीय सचिव विमलेशकुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिनुभएको थियो । कार्यक्रममा सहभागी श्रमिकले यस्ता सचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
सहभागीले न्यूनतम पारिश्रमिक, श्रम मापदण्डको पालना तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको श्रम, सीप र योगदानको सम्मान तथा संरक्षणका लागि नेपाल सरकारले थप पहल गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा दैनिक जीवन र कार्यस्थलमा हुने आकस्मिक घटनामा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा ‘फस्र्ट एड’सम्बन्धी व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित राजदूतावासका कूटनीतिक कर्मचारीको उपस्थिति थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्नुहोस् नतिजा !

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

रोटरी क्लब अफ स्वयम्भूद्वारा धादिङको बहिरा विद्यालयलाई खाद्यान्न सहयोग

यो पनि पढ्नुहोस