धादिङ । सीमान्तकृत चेपाङ समुदायको सर्वाङ्गीण विकासका लागि परम्परागत राहतमुखी कार्यक्रमलाई विस्थापित गर्दै संस्कार, सीप र ज्ञानमा आधारित दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
चेपाङ समुदायको उत्थानको लागि स्थानीय सरकार संघ संस्था, चेपाङ अगुवा, चेपाङ समुदायको भुमिका सम्बन्धि अन्तरजिल्ला स्तरीय गोष्ठीमा सहभागीहरुले चेपाङ समुदायको पहिचान र सर्वाङ्गीण विकासबारे छलफल गरेका हुन् ।
‘चेपाङ उत्थानको मूल आधार ः संस्कार, सीप र ज्ञानमा प्रयास’ विषयक अन्तरजिल्ला स्तरीय गोष्ठीका सहभागीहरूले समुदायको वास्तविक उत्थानका लागि स्थानीय सरकारले शिक्षित युवालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने र राज्यका नीतिहरूमा यस समुदायको पहिचानलाई दस्तावेजीकरण गरिनुपर्ने माग अघि सारेका छन् ।
विशेष गरी चेपाङ समुदायको भाषा, साहित्य, कला र ऐतिहासिक पहिचानको संरक्षण तथा दस्तावेजीकरण गर्ने मुख्य उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले बताए ।
गोष्ठीमा चेपाङ समुदायको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थाको यथार्थ तथ्याङ्क संकलन गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो । गोष्ठीमा सरकारद्वारा सञ्चालित कार्यक्रमहरूको प्रभावकारिताको समीक्षा गर्दै आगामी दिनमा समुदायको समग्र विकासका लागि आवश्यक नीति र योजना पहिचान गर्ने, राष्ट्र निर्माणमा चेपाङ समुदायले दिएको योगदानको चर्चा गर्ने र नेतृत्व विकासमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने जस्ता उद्देश्यहरूमाथि केन्द्रित रहेर छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले चेपाङ समुदायलाई अब दया र राहतको पात्र मात्र बनाउन नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘चेपाङ समुदायको उत्थानका लागि अब राहत दिने कुराको अन्त्य हुनुपर्छ, हामीले हाम्रा शिक्षित युवाहरूलाई आत्मनिर्भर बनाउन स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । समुदायको संस्कार र सीपलाई आधुनिक ज्ञानसँग जोडेर मात्र हामीले खोजेको वास्तविक परिवर्तन सम्भव छ ।’ अध्यक्ष थपलियाले गोष्ठीका उद्देश्यहरू पूरा गर्न गाउँपालिकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
स्थानीय सरकार, विभिन्न संघसंस्थाका प्रतिनिधि र चेपाङ अगुवाहरूको उल्लेख्य सहभागिता रहेको गोष्ठीमा समुदायका विद्यमान चुनौती र सम्भावनाहरूलाई केलाउँदै आगामी विकासको मार्ग निर्देशन तयार पारिने बताइएको छ । सहभागीहरूले अबको विकास बजेट र कार्यक्रमहरू समुदायको वास्तविक आवश्यकता र पहिचानमा आधारित हुनुपर्ने कुरामा विशेष जोड दिएका थिए ।