धादिङ । पेट्रोलियम पदार्थको मुल्यबृद्धिसंगै पृथ्वीराजमार्ग विस्तारको काम ठप्प बनेको छ । अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको प्रत्यक्ष असर पृथ्वी राजमार्ग विस्तारमा परेको हो ।
त्रिभुवन लोकपथ र पृथ्वी राजमार्गमा पर्ने नागढुंगा मुग्लिन सडक विस्तार कार्य पछिल्लो दुई महिनादेखि ठप्प जस्तै बनेको नागढुंगा मुग्लिन सडक आयोजना पूर्वी खण्डका इन्जिनियर केशव प्रसाद ओझाले जानकारी दिनुभयो ।
करिब ९५ किलोमिटर दूरी रहेको यो सडक तीनवटा प्याकेजमा छुट्याएर विस्तारको काम थालिएको हो । तीनवटै प्याकेजमा पुल र ढलानका कामहरू सुस्त गतिमा भइरहेपनि अन्य काम ठप्प बनेको छ । काम भइरहेको सोप्याङ खोला र खहरे खोलाको पुल निर्माणले पनि तीव्रता पाउन सकेको छैन ।
इन्धन र विटुमिन (अलकत्रा) को मुल्य आकासिएर निर्माण सामग्रीको लागत र ढुवानी खर्च अस्वाभाविक रूपमा बढेपछि काम अगाडि बढाउन नसक्ने स्थिति पैदा भएको निर्माण व्यवसायीहरूले बताएका छन् ।
आयोजनाको प्रगति विवरण अनुसार पहिलो प्याकेजअन्तर्गत नागढुंगा–नौबिसे १२.२६ किलोमिटर सडक खण्डमा ८८ प्रतिशत काम सकिए पनि अन्तिम कालोपत्रे र सडक सुरक्षाका काम बाँकी छन् । त्यस्तै दोस्रो प्याकेज अन्तर्गतको नौबिसे–मलेखु खण्डको ४३.५४ किलोमिटर सडकमा ५८ प्रतिशत काम सम्पन्न भएको छ भने मलेखुदेखि मुग्लिनसम्मको तेस्रो प्याकेजको ३८.८६ किलोमिटर सडकको अवस्था निराशाजनक छ । हाल पुल, कल्भर्ट र कालोपत्रेका लागि बेस हाल्ने काम गर्नुपर्ने भए तापनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिकै कारण दुई महिनादेखि उल्लेख्य प्रगति हुन सकेको छैन ।
ठेक्का सम्झौता हुँदाको तुलनामा अहिले निर्माण सामग्री र इन्धनको मूल्यमा ठूलो अन्तर आएकाले काम ठप्प हुने अवस्थामा पुगेको निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर ज्ञानेन्द्र घिमिरेले जानकारी दिनुभयो । विशेषगरी कालोपत्रेका लागि अनिवार्य विटुमिन र मेसिनरी सञ्चालनका लागि आवश्यक डिजेलको मूल्य नियन्त्रण बाहिर जाँदा कम्पनीलाई ठूलो आर्थिक क्षति भइरहेको उहाँको भनाइ छ । सरकारले मूल्यवृद्धिको शोधभर्ना नगरेसम्म कामलाई निरन्तरता दिन नसकिने व्यवसायीहरूको अडान छ ।
सडक विस्तारका लागि दैनिक २५ हजार लिटर इन्धन आवश्यक पर्ने भएपनि व्यवसायीले इन्धनमा कोटा प्रणाली लगाएर ३ देखि ६ हजार लिटर मात्र उपलब्ध गराउँदा मेसिनरी सञ्चालनमा बाधा पुगेको छ ।
विटुमिन र इन्धनको मूल्य वृद्धिका कारण आयोजनाको लागत अनुमान बढेको दाबी गर्दै व्यवसायीहरूले विटुमिन र इन्धनमा बढेको मूल्य अनुसार ठेक्का रकममा थप बजेट व्यवस्था गरिनुपर्ने, जिल्ला दररेट र आयोजनाको दररेटलाई वर्तमान बजार मूल्यसँग मेल खाने गरी परिमार्जन गरिनुपर्ने, मूल्यवृद्धिको असर परेका आयोजनाहरूमा प्रक्रियागत ढिलाइ नगरी तत्काल भुक्तानीको व्यवस्था हुनुपर्ने माग गर्दै आएका छन् । सरकारले समयमै मूल्य समायोजन नगरे व्यस्त राजमार्ग विस्तार कार्य लामो समय अलपत्र पर्ने देखिएको छ ।