धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८, साँघटारमा सञ्चालित आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था पछिल्लो समय स्थानीय किसानका लागि भरोसाको केन्द्र बन्दै गएको छ । सहकारीले आफ्नै कृषक बजार सञ्चालन गरी स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल तथा अन्नबाली संकलन र बिक्री वितरण गर्न थालेपछि किसान र उपभोक्ता दुवै लाभान्वित भएका हुन् ।
एक वर्षअघि औपचारिक रूपमा सञ्चालनमा आएको सहकारीले हाल नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका कृषकहरूले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म पु¥याउने पुलको काम गरिरहेको सहकारीका बजार व्यवस्थापक गोकर्ण प्रसाद रिजालले जानकारी दिनुभयो । करिब ५०० जना कृषकले उत्पादन गरेका कृषि सामग्री सहकारीमार्फत बिक्री भइरहेका छन् । सहकारीले किसानको सुविधाका लागि गाउँगाउँबाट तरकारी संकलन गर्न गाडीको समेत व्यवस्था गरेको छ ।
संस्थाले नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरूमा संकलन केन्द्रहरू समेत स्थापना गरेको छ, जहाँबाट हप्ताको दुई पटक गाडी पुगेर किसानका उत्पादन संकलन गर्ने गरेको सहकारीका अध्यक्ष सम्भु श्रेष्ठले जानकार िदिनुभयो ।
सहकारीले हिजआज तरकारीहरु १५रुपैया देखि एक सय २० रुपैंयासम्ममा विक्रि गरिरहेको छ । महंगोमा (बोडी) प्रतिकिलो १ सय २० रुपैयाँ र सस्तोमा (कैँडा फर्सी) १५ रुपैंयामा विक्रि गरिरहेको बजार व्यवस्थापक दुवाडीले जानकारी दिनुभयो ।
सहकारीले नीलकण्ठ नगरपालिकासहित आसपासमा उत्पादन भएको तरकारी विदेशमा समेत विक्रिका लागि पु¥याउन थालेको छ । नेपाली माटो नामक कम्पनीमार्फत घिरौँला, फर्सीको मुन्टा, काँक्रो र करेला जस्ता तरकारीहरू काठमाडौँ हुँदै विदेशसम्म निर्यात गर्ने गरेको सहकारीका व्यवस्थापक विष्णुहरि लम्सालले जानकारी दिनुभयो । हालसम्म यहाँको तरकारी सात पटक विदेश निर्यात गरिसकेको उहाँको भनाई छ ।
ढुवानी र भण्डारणका क्रममा हुने जोखिम र नोक्सानीलाई मध्यनजर गर्दै १० प्रतिशत मार्जिन राखेर व्यापार तरकारी पसलहरुलाई तरकारी विक्रि गरिरहेको व्यवस्थापक लम्सालले जानकारी दिनुभयो ।
धुवाकोट, निगालपानी, हनुमानडाँडा लगायतका क्षेत्रका किसानहरूले सहकारीमा नियमित तरकारी ल्याउने गरेका छन् । किसानहरूले उत्पादन गरेका तरकारी र फलफूलको मूल्यमा एकरुपता ल्याउन र बिचौलियाको अन्त्य गर्न सहकारीले मुख्य भूमिका खेलेको सञ्चालकहरूको दाबी छ । नीलकण्ठ नगरपालिकाबाट २ लाख ४० हजार, कृषि मन्त्रालयबाट ६ लाख र सहकारीको आफ्नै ३ लाख रुपैयाँ लगानीमा सुरु भएको सहकारीले हाल सेयर सदस्य संख्या विस्तार गरिरहेको छ ।