आहाः ‘स्केटिङ’मा गुड्दा क्या मज्जा !

जेष्ठ २, २०८३

धादिङ । शनिबारको बिहान । टाउकोमा हेल्मेट र हात–घुँडामा सेफ्टी गार्ड, खुट्टामा पाङ्ग्र्रा जडित जुत्ता छन् । कसैको अनुहारमा रोमाञ्चक जितको मुस्कान छ, कसैको आँखामा सन्तुलन मिलाउने एकाग्रता । केही बालबालिका पाङ्ग्रा जडित जुत्ता लगाएर सन्तुलन मिलाउँदै छन्, केही असिनपसिन भएर जुत्ता फुकाल्दै छन् । “वान, टु, थ्री… गो !” भन्दै प्रशिक्षकले इसारा गर्दा जुत्ता लगाएर तम्तयार बालबालिकाहरू चरा उडे झैँ स्केटिङ हलमा गुड्छन् ।

यो धादिङबेसीस्थित स्केट पार्कको दृश्य हो । स्केटपार्क, बालबालिका र किशोरकिशोरी लागि विदा मनाउने सबैभन्दा प्रिय र आकर्षक स्थल बनेको छ । पछिल्लो समय मोबाइल र टेलिभिजनको स्क्रिनमा सीमित भइरहेका बालबालिकालाई यो पार्कले एउटा नयाँ संसार दिएको छ । प्रतिघण्टा मात्र दुई सय रुपैयाँ खर्चेर उपलब्ध हुने यो खेलले बालबालिकालाई अनलाइन गेमको लत र कोठाको गुम्सिएको वातावरणबाट बाहिर निकालेको छ । खेलेर निस्किदै गरेका अनुष्का श्रेष्ठ भन्छिन्–‘मोबाइल चलाएर बस्नुभन्दा त यहि खेल्न मज्जा हुने रहेछ ।’

पाङ्ग्रावाला जुत्ता लगाएर हावाको गतिमा कुद्न पाउनु स्केटिङको विशेषता हो । यसले मनोरञ्जन मात्र दिँदैन, शरीरका प्रत्येक मांसपेशीलाई सक्रिय बनाएर शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न मद्दत गर्दछ । खेलको यही बहुआयामिक फाइदा र बेग्लै रौनकका कारण अहिले यो खेल युवापुस्ता माझ निकै लोकप्रिय बनेको छ ।

“पहिले त म विदाको दिन दिनभर युट्युब र कार्टुन हेरेर बस्थेँ, आँखा दुख्ने र अल्छी लाग्ने हुन्थ्यो, तर स्केटिङ खेल्न थालेदेखि मोबाइलको खासै याद आउदैन”, पार्कमा स्केटिङको मज्जा लिइरहेका ११ वर्षीय आयुष श्रेष्ठले आफ्नो अनुभव सुनाए ।

“सुरुमा एक–दुई पटक लडे पनि अहिले म सजिलै कुद्न सक्छु । स्केटिङ गर्दा हावामा उडेको जस्तो मज्जा आउँछ र शरीरमा बेग्लै फूर्ति आउँछ” आय्षले खुसी सुनाए ।

आयुष जस्तै स्केटिङको मोहमा परेकी १३ वर्षीया क्रिष्टिना लामा पनि विदाको दिन स्केटपार्क आउन पाउँदा निकै खुसी देखिन्छिन् । उनले भनिन्, “सुरुमा त डर लागेको थियो, तर ट्रर्याकमा गुड्न थालेपछि धेरै रमाइलो हुने रहेछ ।” आफ्ना साथीहरूलाई पनि स्केटिङ खेल्न ल्याउने गरेको क्रिष्टिनाले बताइन् ।

बालबालिकामा बढ्दो यो क्रेज र स्केटिङको महत्वबारे पार्कका सञ्चालक लक्ष्मण अधिकारी पनि उत्साहित छन् । विभिन्न खालका आधुनिक कुलत र डिजिटल दुव्र्यसनको जोखिममा रहेका अहिलेको पुस्तालाई स्केटिङले शीर्जनशील बनाउन मद्दत पुगेको उनको बुझाई छ ।
स्केटिङ जस्ता साहसिक र शारीरिक खेलहरूले बालबालिकालाई सिर्जनशील मार्गमा डो¥याउँने कुरामा अभिभावकहरु पनि विश्वस्त छन् । नातीलाई स्केटिङ खेलाउन ल्याएका विष्णुमान श्रेष्ठ भन्छन्–“हप्तामा एक पटक खेल्न ल्याइदिएपछि खाना खान, स्कुल जान, होमओर्क गर्न कुनैबेला पनि झगडा गर्दैन, स्केटिङ लगिदिन्छु भनेपनि ज्ञानी भएर बस्छ, त्यसैले बेला बेला खेलाउन ल्याउछु ।’

सन् १९६० को दशकमा अमेरिकाबाट सुरु भई सन् २०११ देखि नेपालमा व्यवस्थित हुन थालेको यो खेल एक वर्ष अघिमात्रै धादिङ भित्रिएको हो । अहिले स्केटिङले धादिङमा व्यवसायिक र प्रवद्र्धनात्मक रूप लिन थालेको छ । हाल जिल्ला सदरमुकाम धादिङबेसीसहित तीन स्थानमा स्केटिङ पार्क छ ।

यद्यपि, यो खेल जति रोमान्चक छ, यसमा सुरक्षाको उत्तिकै भूमिका रहन्छ । विना तयारी र सुरक्षा सामाग्रीबिना खेलिए चोटपटक लाग्न सक्ने भएकाले सावधानीमा भने विशेष ध्यान दिन जरुरी हुने प्रशिक्षकहरु बताउँछन् ।

स्केटिङ पार्कहरुले खेल्न आउने प्रत्येक बालबालिकालाई दक्ष प्रशिक्षकको निगरानीमा राख्ने गरेका छन् । खेल्नुअघि अनिवार्य रूपमा हेल्मेट, कुइनो र हत्केलाको सेफ्टी गार्ड तथा घुँडाका लागि नि–गार्ड उपलब्ध गराउने गरेका छन् । अन्य दिन भन्दा विदाको दिनमा स्केटिङ पार्कहरुमा बालबालिकाको घुइचो नै लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

काठमाण्डौबाट नृसिंहधाम आउजाउ गर्न छुट्टै गाडी !

तरकारी व्यवसायबाटै सन्तोषको सुखद् सफलता

आहाः ‘स्केटिङ’मा गुड्दा क्या मज्जा !

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस