काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रका समस्यासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद खगेन्द्र सुनारले समाचार सङ्कलन गर्ने पत्रकारका लागि संसद्मा सहज रुपमा काम गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको छ । उहाँले संसदीय समाचार सङ्कलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने बाध्यता भएकाले आवश्यक व्यवस्था गर्न तथा पिउने पानी र शौचालयको व्यवस्था गर्न सम्बद्ध पक्षसँग अनुरोध गर्नुभयो ।
सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गर्नुभयो । सांसद गणेश कार्कीले मोरङ क्षेत्र नं ३ को भूमि समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद गणेश धिमालले पर्यटकीयस्थल सिम्रौनगढको विकासका लागि सडक पूर्वाधारको माग गर्नुभयो । सांसद गणेश पराजुलीले काठमाडौँ चक्रपथको काम लामो समयदेखि अलपत्र भएकाले यथासक्य छिटो अघि बढाउन अनुरोध गर्नुभयो ।
सांसद गणेश पौडेलले रौतहट क्षेत्र नं ४ मा बाग्मतीको कटानले गर्दा लालपुर्जा भएका जग्गा धनी पनि सुकुमवासी हुन बाध्य हुनुपरेको उल्लेख गर्दै ऐलानी जग्गामा बसेकालाई स्थानीय तहले छोड भनी सूचना टाँस गरेर आतङ्कित तुल्याएको भनी दुःख व्यक्त गर्नुभयो ।
सांसद गणेशबहादुर विश्वकर्माले दासप्रथाको अवशेषका रुपमा रहेका हरुवाचरुवा आदिलाई १०० बुँदे कार्यक्रममा नराखिएकाले अहिले राजधानीमा आइपुगेको बताउँनुहुँदै उनीहरुको समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न माग गर्दै भरपर्दो सञ्चार सेवा सुनिश्चित गर्न माग गर्नुभयो ।
सांसद गीता गुरुङले पदीय दुरुपयोग एवम् भ्रष्टाचार गर्ने जो कोहीलाई पनि सख्त कारवाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद गीताकुमारी स्याङ्दानले आगामी वर्षको बजेट भुइँमान्छेलाई पनि छुने गरी ल्याउन माग गर्नुभयो । सांसद गोपाल शर्माले मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम क्षेत्रका केही पुल अलपत्र भएकाले समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद गोविन्द पन्थीले बेरोजगार युवा रोजगारीका लागि विदेश गएर काम गर्दा विभिन्न खालका असहज अवस्थामा पर्दा त्यहाँस्थित नेपाली राजदूतावास मुकदर्शक बनेको आरोप लगाउनुभयो ।
सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका दीपक भण्डारीले सामाजिक सञ्जालमार्फत इच्छा मृत्युको माग गरेकाले त्यस्ता किन आयो भनी छानबिन गरेर समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद गङ्गादेवी श्रेष्ठले प्रधामन्त्रीले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा राखेको ‘ग्रेटर नेपाल’को नक्सा कता गयो भनी प्रश्न गर्नुभएको थियो ।
सांसद चन्दनकुमार सिंहले कृषि प्रधान देश भनिए पनि किसान सिँचाइ, मल र बीउबाट पीडित भएको, खेतीमा भविष्य नदेखेर युवा विदेशिएकाले कृषिमा आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको बताउँनुहुँदै त्यस क्षेत्रका सडक पनि दयनीय अवस्थामा रहेर दुर्घटना बढेकाले सडक बनाउन पर्याप्त बजेटको व्यवस्था गरियोस् भनी माग गर्नुभयो ।
सांसद कुलभक्त शाक्यले काठमाडौँको सामाखुसी, रानीबारी क्षेत्रमा चार मिटरको मापदण्डका नाममा डोजर आतङ्क सिर्जना भएको भनी दुःख व्यक्त गर्दै भूमिहीन सुकुमवासीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद ऐनबहादुर महरले सडक दुर्घटनामा परी हरेक दिन नेपालीको ज्यान गइरहेको प्रसङ्ग उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि पहल होस् भन्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1