गर्मी छल्ने स्थल ‘तीन तलेभीर’

गंगा सुनार

जेठ ४, २०८३

धादिङ । ढुंगैढुंगाको चट्टानमाथि बनेको एउटा सुन्दर डाँडो, ‘तीन तलेभीर’ । तलबाट हेर्दा यो भीर कहालीलाग्दो देखिन्छ, तर डाँडामा पुगेपछि समथर जमिन छ । जहाँ गर्मी छल्न मानिसहरू पुग्ने गर्छन् । भर्खरका युवायुवती हुन् या पाका पुस्ता, तीन तलेभीर पुग्ने जो–कोही त्यहाँको सिरसिरे बतास र मनमोहक दृश्यमा मोहित हुन्छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ मा रहेको भीर एउटा रोचक र आकर्षक छ । तल फेददेखि माथि टुप्पोमा हेर्दा ३ वटा तला मिलेर बनेको जस्तो देखिने भएकोले यस भीरको नाम तीनतले भीर रहेको स्थानीयको भनाई छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण तीनतले भीरबाट सदरमुकाम धादिङबेसी आसपासको दृश्यावलोशन गर्न सकिन्छ । हरियाली डाँडा, गाउँबस्ती र मनोरम हिमालहरू देखिन्छन् । अग्ला चट्टान, हरियाली वन, शान्त वातावरण र टाढासम्म फैलिएको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ । भीर वरिपरि निर्माण हुँदै गरेको पार्कले यसको सौन्दर्यलाई अझ रोमान्चक बनाएको छ । बिहान सूर्यद्धय र साँझ सूर्यास्तका बेला तीनतलेबाट अझ आकर्षक र रमणीय दृश्य हेर्न पाइन्छ ।

No data was found

पछिल्लो समय फोटो र भिडियो खिच्न पनि मानिसहरु तीनतले पुग्ने गरेका छन् । तीनतलेका फोटो भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् । साथीहरुसँग फोटो खिच्न तीनतले पुगेकी निशा रेग्मी भन्छिन्–‘धेरै मान्छेहरुले यहाँको फोटो भिडियो हालिरहेको देखेर हामी पनि आयौं ।’

दिउँसोको चर्को गर्मीमा पनि यहाँ चल्ने चिसो हावाले शीतलता दिन्छ । त्यसैले धेरैजसो मानिसहरू अपराह्न र साँझपख यहाँ पुग्ने गरेका छन् । साँझको समयमा चराचुरुङ्गीको मधुर आवाज, शान्त वातावरण र मनै लोभ्याउने सूर्यास्तले मन लोभ्याउछ ।

तीनतलेमा अहिले ठाउँ ठाउँमा विश्रामस्थल निर्माण भएको छ । अहिले बस्ने ठाउँ बनेपछि साथीभाईसँग आनन्दले बस्न सकिने त्यहाँ भेटिएकी शर्मीला लामाले सुनाइन् । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र डाँडाको शीतल हावाले गर्दा आफूलाई बारम्बार आउन मन लाग्ने उनले बताइन् ।

मानिसहरुको चहलपहल बढेपछि स्थानीय व्यापारमा पनि सुधार आएको छ । गर्मीको बेला मानिसहरु आउँछन्, पसलको व्यापार पहिलेभन्दा बढेको स्थानीय व्यवसायी ईश्वरी कुमालले बताइन् । नीलकण्ठ नगरपालिकाले यस स्थानलाई थप आकर्षक बनाउन पार्क, प्रतिक्षालय र चौताराहरू निर्माण गरिरहेको छ ।

यो क्षेत्र सफा र अझ सुन्दर राख्न नगरपालिकाले फोहोर फाल्ने डस्टबिन व्यवस्था गरिदिए अझ राम्रो हुने स्थानीयको भनाई छ । तीनतले भीरको फेदमा पुग्न धादिङबेशीबाट करीब १ किलो मिटर यात्रा गर्नुपर्छ । भीरको फेदबाट करीब ५०० मिटर हिडेर यस टुप्पोमा पुग्न सकिन्छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 10

ताजा खबर

सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

यो पनि पढ्नुहोस
गंगा सुनार