गर्मी छल्ने स्थल ‘तीन तलेभीर’
गंगा सुनार

जेष्ठ ४, २०८३

धादिङ । ढुंगैढुंगाको चट्टानमाथि बनेको एउटा सुन्दर डाँडो, ‘तीन तलेभीर’ । तलबाट हेर्दा यो भीर कहालीलाग्दो देखिन्छ, तर डाँडामा पुगेपछि समथर जमिन छ । जहाँ गर्मी छल्न मानिसहरू पुग्ने गर्छन् । भर्खरका युवायुवती हुन् या पाका पुस्ता, तीन तलेभीर पुग्ने जो–कोही त्यहाँको सिरसिरे बतास र मनमोहक दृश्यमा मोहित हुन्छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ मा रहेको भीर एउटा रोचक र आकर्षक छ । तल फेददेखि माथि टुप्पोमा हेर्दा ३ वटा तला मिलेर बनेको जस्तो देखिने भएकोले यस भीरको नाम तीनतले भीर रहेको स्थानीयको भनाई छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण तीनतले भीरबाट सदरमुकाम धादिङबेसी आसपासको दृश्यावलोशन गर्न सकिन्छ । हरियाली डाँडा, गाउँबस्ती र मनोरम हिमालहरू देखिन्छन् । अग्ला चट्टान, हरियाली वन, शान्त वातावरण र टाढासम्म फैलिएको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ । भीर वरिपरि निर्माण हुँदै गरेको पार्कले यसको सौन्दर्यलाई अझ रोमान्चक बनाएको छ । बिहान सूर्यद्धय र साँझ सूर्यास्तका बेला तीनतलेबाट अझ आकर्षक र रमणीय दृश्य हेर्न पाइन्छ ।

पछिल्लो समय फोटो र भिडियो खिच्न पनि मानिसहरु तीनतले पुग्ने गरेका छन् । तीनतलेका फोटो भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् । साथीहरुसँग फोटो खिच्न तीनतले पुगेकी निशा रेग्मी भन्छिन्–‘धेरै मान्छेहरुले यहाँको फोटो भिडियो हालिरहेको देखेर हामी पनि आयौं ।’

दिउँसोको चर्को गर्मीमा पनि यहाँ चल्ने चिसो हावाले शीतलता दिन्छ । त्यसैले धेरैजसो मानिसहरू अपराह्न र साँझपख यहाँ पुग्ने गरेका छन् । साँझको समयमा चराचुरुङ्गीको मधुर आवाज, शान्त वातावरण र मनै लोभ्याउने सूर्यास्तले मन लोभ्याउछ ।

तीनतलेमा अहिले ठाउँ ठाउँमा विश्रामस्थल निर्माण भएको छ । अहिले बस्ने ठाउँ बनेपछि साथीभाईसँग आनन्दले बस्न सकिने त्यहाँ भेटिएकी शर्मीला लामाले सुनाइन् । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र डाँडाको शीतल हावाले गर्दा आफूलाई बारम्बार आउन मन लाग्ने उनले बताइन् ।

मानिसहरुको चहलपहल बढेपछि स्थानीय व्यापारमा पनि सुधार आएको छ । गर्मीको बेला मानिसहरु आउँछन्, पसलको व्यापार पहिलेभन्दा बढेको स्थानीय व्यवसायी ईश्वरी कुमालले बताइन् । नीलकण्ठ नगरपालिकाले यस स्थानलाई थप आकर्षक बनाउन पार्क, प्रतिक्षालय र चौताराहरू निर्माण गरिरहेको छ ।

यो क्षेत्र सफा र अझ सुन्दर राख्न नगरपालिकाले फोहोर फाल्ने डस्टबिन व्यवस्था गरिदिए अझ राम्रो हुने स्थानीयको भनाई छ । तीनतले भीरको फेदमा पुग्न धादिङबेशीबाट करीब १ किलो मिटर यात्रा गर्नुपर्छ । भीरको फेदबाट करीब ५०० मिटर हिडेर यस टुप्पोमा पुग्न सकिन्छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 10

ताजा खबर

नयाँ मुख्यसचिवमा कार्की नियुक्त

प्रतिनिधिसभाः रासायनिक मलको सहज व्यवस्था गरियोस्

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

तुइन खोलामा पहिरो रोकथाम सुरु

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छः मन्त्री चौधरी

यो पनि पढ्नुहोस
गंगा सुनार