काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माको सुनुवाइ प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।
मंगलबार बसेको समितिको बैठकमा श्रेष्ठले न्यायालयमा व्याप्त अन्योल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा जोड दिए । बैठकको कार्यतालिका केही अगाडि सारिएको विषयमा उनले यसलाई हतारोका रूपमा बुझ्न नहुने दाबी गरे ।
‘हामीले आजका लागि बैठक पहिले नै तय गरेका थियौँ, केवल समय मात्र केही अगाडि सारिएको हो,’ श्रेष्ठले भने, ‘भोलिको कार्यतालिकालाई आजैबाट सुरु गर्दा प्रक्रियाले गति लिने र संस्थागत निकास छिटो निस्कने हाम्रो उद्देश्य हो ।’
सदस्यहरूले अध्ययनका लागि समय अभाव भएको भनी उठाएको जिज्ञासामा सभापति श्रेष्ठले उजुरीकर्ताहरूसँगको छलफलले विषयवस्तुलाई थप प्रस्ट पार्ने तर्क गरे । उजुरीकर्ताहरूको भनाइ सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सोधिने प्रश्नहरू तयार गर्न र विषयको गहिराइमा पुग्न सहज हुने उनको भनाइ छ ।
“सही निर्णय पनि गलत समयमा गरियो भने त्यसको सान्दर्भिकता रहँदैन, त्यसैले संस्थालाई अनिर्णयको बन्दी बनाउनु हुँदैन,” श्रेष्ठले भने, “आजको निर्णयले न्यायालयमा केही न केही सहजता प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”