धादिङ । चिया भन्नेबित्तिकै सामान्यतया कालो, दुध वा चिनी हालिएको भन्ने चित्र मस्तिष्कमा आउँछ । तर, धादिङवेशीमा अहिले चिनी र चियापत्ती बिनाको जडिबुटी चियाले चर्चा पाइरहेको छ ।
विशेषगरी हिमाली भेगमा पाइने प्राकृतिक जडिबुटीहरूको समिश्रणबाट तयार पारिने यो चियाको नाम ‘छोकडा चिया’ हो । उखरमौलो गर्मी बढिरहेपनि यो पसलमा चिया पिउन आउनेको संख्या घटेको छैन ।
चियामा औषधीय गुण भेटिने भएकाले पनि चिया पिउनेहरुको संख्या गर्मीमा पनि नघटेको पसल संचालक आशिष गुरुङ बताउँछन् । ‘जडिबुटिले मात्रै जिब्रोमा स्वाद नपुग्ने हुनाले स्वादका लागि छोकडा चुस्ने र चिया पिउने हो, त्यसैले चियाको नाम नै छोकडा चिया बन्यो’, आशिषले भने ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३, गैराका गुरुङले अर्गानिक चिया अर्थात ‘अर्गानिक टि हव’को नामले चियालाई बजारमा ल्याएर व्यावसायिक रूप दिएका हुन् । नीलकण्ठ नगरपालिका–३, सिरानबजारमा रहेको अर्गानिक चिया पसल स्वास्थ्यप्रति सचेत नागरिकहरूका लागि महत्वपूर्ण जमघट स्थल बनेको छ ।
आशिषले बनाएको जडिबुटि चियाको चर्चा देशको ठूला सहरहरुमा पनि छ । विकट गाँउमा बाल्यकाल बिताएका गुरुङले आफु सानोछँदा बुबाआमाले बनाएर दिनुभएको घरायसी चियालाई नै अहिले अर्गानिक चिया नामले ब्रान्डिङमा ल्याएको हुन् । चियामा तुलसीको पात, गुर्जो, अमला, जेठोमधु, ज्वानो, रातोफूल, धसिंगे, पारिजात, तेजपत्ता, मोरिंगा, लालीगुराँसको पात, घोडताप्रे र दालचिनी, यार्सागुम्बा, सिलाजितलगायत २० भन्दा बढी बहुगुण भएका जडिबुटीहरू मिसाइने आशिषले बताए ।
शरीरको रोग प्रतिरोधत्मक क्षमता बढाउन पनि चियामा मिसाइएका जडिबुटीहरू वैज्ञानिक र प्राकृतिक रूपमा निकै उपयोगी मानिन्छन् । चिया पिउन थालेपछि शरीरमा आएको परिवर्तन सुनाउनेहरु पनि प्रशस्तै छन् । खल्लो नमिठो मानेरै भएपनि एक पटक चिया पिएर गएकाहरु प्राय फर्किएर आउने र चियाको प्रशंसा सुनाउने गरेको आशिसको अनुभव छ । चियाले रक्तचाप नियन्त्रण गर्न, ग्यास्ट्रिकको समस्या हटाउन र शरीरको दुखाइ कम गर्न अचुक काम गरेको उनीहरु बताउँछन् ।
‘एक पटक पोखराको मान्छे चिया पिउन आउनुभयो, त्यतिबेला चिया मन परेन कुरा मात्रै रहेछ भन्दै फर्किनुभयो । तैपनि मैले चियाको विशेषता बताएँ’, आशिष भन्छन्–एक हप्तापछि चिया त अचम्मकै रहेछ, मेरो त शरीर नै फेरिएजस्तो भयो भनेर फेरी आउनुभयो, कित्लीमा हालेर लिएर जानुभयो अहिले पोखराबाट नियमित ग्राहक बन्नुभएको छ ।’
जडिबुटिको चिया अष्ट्रलियन नागारिकहरुमा समेत चर्चा छ । नेपाल घुम्न आएका अष्ट्रेलियनहरुलाई मानसोलु जाने क्रममा नेपाली गाइट सन्दिप रिजालको टिमले अगार्निक चिया चखाएर पाठए । ति नागरिकले आफ्नो देशमा अगार्निका चिया बारे प्रचार गरे ।त्यसपछि नेपाल घुम्न आउने अष्ट्रेलियन नागरिकहरु यहाँ आउने क्रम बढे्को आशिषको भनाइ छ ।
आमाबुबाको त्यही पुरानो ओखती जस्तो चियालाई उनले आधुनिक रुप दिएर चिया सञ्चालन गरेका हो । बाल्यकालमा नाक खुम्च्याउने त्यही घरेलु चियालाई अहिले गाउँघरका जडिबुटीको प्रवद्र्धन गर्दै देशभर चिनाउने लक्ष्य राखेका छन् ।
आशिष भारतीय सेनाबाट अवकासप्राप्त व्यक्ति हुन् । अवकासपछि उनले भारतमा नै आर्युवेद सम्बन्धी व्यवसायको मार्केटिङ गरे । त्यतिबेला उनले जडिबुटिको महत्व थाहा पाए र नेपाल फर्किएर जडिबुटिको प्रवद्र्धनसँगै अर्गानिक चिया र अर्गानिक खानेकुराको स्वाद चखाउनतिर लागेका हुन् । कोदो, फापर र गहुँको रोटी र सुपले ग्राहकलाई थप तान्ने गरेको छ ।
गर्मी महिनालाई मध्यनजर गर्दै जुस, लर्सी, करेला जुस पनि उनले अर्गानिक तरिकाबाटै चखाउने गरेका छन् । चियाको सेवनपछि औषधीय महसुस भएको प्रतिक्रिया दिएका छन् ।
धादिङको हिमाली भेग अमूल्य जडिबुटीहरूको प्रचुर सम्भावना रहेको क्षेत्र हो । ग्राहकको स्वास्थ्यलाई फाइदा पु¥याउने र रैथाने प्राकृतिक स्रोतको जगेर्ना गर्ने गुरुङको यो सत्प्रयासले नेपालमा अर्गानिक कृषि पर्यटन र जडिबुटी व्यवसायको भविष्य नै उज्वल बनाउन सक्छ ।



