धादिङ । सदरमुकाम धादिङबेसी बजार क्षेत्रमा धुलो र वायु प्रदुषण अत्यधिक बढेको छ । ग्रामीण क्षेत्रका कच्ची सडकबाट हिलाम्मे भएर आएका सवारी साधनहरू सिधै बजार छिर्दा बजारमा धुलोको समस्या आएको हो ।
हिलाम्मे र धुलाम्मे भएर बजार प्रवेश गरेका गाडीबाट झरेका माटोले सडकभरि धुलो उड्ने धादिङबेसीका स्थानीयहरुले बताएका छन् । पुराना र मर्मत नगरिएका गाडीबाट निस्कने कालो धुवाँले बजारको हावा प्रदुषित बनाएको छ । धुलो र धुवाँका कारण अहिले सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न समेत सास्ती हुने गरेको छ ।
बजार क्षेत्रमा चौबीसै घण्टा उड्ने धुलोले स्थानीय बासिन्दा आजित भएका छन् । धुलोका कारण सर्वसाधारणले घरबाहिर लुगा सुकाउन समेत पाएका छैनन् । बिहान धोएर सुकाएको लुगा बेलुका उठाउने बेला धुलोले गर्दा उस्तै फोहोर हुने गरेको पुछारबजार बस्दै आएका प्रकाश श्रेष्ठले गुनासो सुनाए ।
यो प्रदुषणको सबैभन्दा ठूलो मार बजारका व्यापारीहरूलाई परेको छ । बजारका पसलहरूले धुलोले गर्दा दिनहुँ हैरानी भागिरहेका छन् । बीचबजारका व्यवसायी नवराज अधिकारीका अनुसार पसलका कपडाहरू धुलोले गर्दा बाहिर देखाएर राख्न मिल्दैनन् । धुलो सफा गर्न कपडा धोएर बेच्दा पुरानो देखिने र नधोई बेच्दा धुलो नै धुलो हुने समस्या छ ।
वायु प्रदुषणको सोझो असर मानव स्वास्थ्यमा देखिन थालेको छ । धुलो र धुवाँका कारण स्थानीय अस्पतालहरूमा बिरामीको संख्या बढ्न थालेको छ । प्रदुषित हावाका कारण सर्वसाधारणमा दम, खोकी, छालाको रोग र श्वासप्रश्वासको समस्या देखिएको छ । धादिङ अस्पतालमा दैनिक रूपमा यस्ता बिरामीहरूको चाप बढिरहेको अस्पतालकी स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । हावामा उड्ने धुलोका कणले गर्दा स्थानीय आँखा केन्द्रमा आँखाका बिरामीहरूको संख्या पनि ह्वात्तै बढेको छ ।
स्वास्थ्य जीवनका लागि स्वच्छ वातावरण अनिवार्य भएकाले वातावरणविद्हरूले वायु प्रदुषण नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने भनिरहेपनि हलचेक्राई भइरहँदा समस्या झन् बढेको हो ।
बजारको धुलो रोक्न सडकमा नियमित पानी छर्किनुपर्ने र सडक छेउकुनामा वृक्षारोपण गर्नुपर्ने, पुराना गाडीको नियमित परीक्षण गर्ने र विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने हो भने प्रदुषण कम गर्न सकिने स्थानीय जानकारहरुले बताएका छन् ।