धादिङ। सदरमुकाम धादिङबेसी बजारलाई सुन्दर र हरियाली बनाउन सडक किनारमा राखिएका गमलाहरू अहिले अधिकांश भताभुङ्ग बनेको छ । लाखौँ रकम खर्चेर राखिएका फलामे स्ट्यानमा राखिएका गमला र फुलहरु नागरिक र स्थानीय तहको लापरबाहीका कारण अहिले लथालिङ्ग बनेको हो ।
सडकका दुबै किनारामा (फलामका पोल) स्ट्यान बनाएर राखिएका गमलाका अधिकांश फूलहरू सुकेका छन् । रातिको समयमा गमलालाई उज्यालो दिन र आकर्षक बनाउन जडान गरिएका बिजुली बत्तीहरू पनि अहिले काम नगर्ने अवस्थामा पुगेका छन् ।
नियमित रेखदेख र उचित संरक्षण नहुँदा धादिङबेसी बजार क्षेत्र अहिले कुरुप देखिन थालेको छ । घरधनी र व्यवसायीले आफ्नो अगाडिको फूलमा पानी हाल्ने र जोगाउने सामान्य जिम्मेवारी पनि पूरा नगर्दा यो अवस्था आएको हो । आफ्नै घर र पसल अगाडि राखिएका गमलाको समेत स्थानीयले वास्ता नगरेका कारण पनि संरक्षण हुन नसकेको स्थानीयवासी रामबाबु शाहले बताए ।
बजार क्षेत्रमा जथाभाबी गाडी पार्क गर्दा र कतिपय अवस्थामा सडकमा हिँड्ने मानिसहरूले नै लापरबाहीपूर्वक गमला फुटाइदिने गरेका छन् । फुटेका गमला र सुकेका बिरुवाका कारण बजारको सौन्दर्य नै बिगारेको छ । बजारलाई व्यवस्थित बनाउने उद्देश्यले गमलामा फुल रोपिएपनि स्थानीय तहको वेवास्थाकै कारण संरक्षण हुन नसकेको प्रमिला श्रेष्ठले गुनासो गरिन् ।
सुरुवाती दिनमा दायाँ–बायाँ फुलेका फूलहरूले बजार निकै रमणीय र आकर्षक देखिएको थियो । तर, दीर्घकालीन योजना र सुरक्षा नीति बिना गमला मात्र राख्दा यो योजना असफल बन्दै गएको छ । श्रेष्ठ भन्छिन्–‘धादिङबेसीमा दैनिक सयौं मानिसहरूको आवतजावत हुन्छ । यस्तो मुख्य बजारमा फुटाइएका गमला र छरिएका माटोले आगन्तुकहरूमाझ नकारात्मक सन्देश दिइरहेको छ ।’
सार्वजनिक सम्पत्तिको संरक्षणका लागि अब स्थानीय तह, टोल सुधार समिति, उद्योग वाणिज्य संघ लगायत निकायले मिलेर काम गर्नु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । ‘आफ्नो घर वा पसल अगाडि रहेको गमलाको सुरक्षा र गोडमेल गर्ने जिम्मा स्थानीय व्यापारी वा घरधनीलाई नै तोकिदिने र लापरबाही गर्ने वा गमला फुटाउनेहरूलाई सीसीटीभी क्यामेराको मद्दतले पहिचान गरी जरिवाना तिराउने व्यवस्था गरी संरक्षणमा पहल गर्नुपर्ने श्रेष्ठको बुझाई छ ।
सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो र यसलाई जोगाउनु हाम्रो पनि कर्तव्य हो भन्ने भाव राखेर स्थानीय सरकार र नागरिक दुवैले चासो आवश्यक रहेको उनीहरुको बनाई छ ।
