धादिङ । नीलकण्ठ नगरपालिका–३ र ४ जोड्ने अरुण खोलामा पुल निर्माण गर्ने क्रममा भइरहेको ढुंगा उत्खनन्का कारण आसपासका कटानको जोखिम बढेको छ । उत्खनन्ले खोला गहिरिँदै गएकोले किनार क्षेत्रमा कटानको जोखिम बढेको हो ।
पुल निर्माणस्थलकै तल्लो भागबाट ठूला ठूला ढुंगाहरु फुटाएर निकाल्दा खोलाको प्राकृतिक स्वरूप नै परिवर्तन भएको छ । वर्षायाममा आउने भलबाढीले दायाँबायाँका जग्गा जमिन र खेतबारीमा क्षति पु¥याउने निश्चित देखिएको स्थानीयहरुले गुनासो गरेका छन् ।
बिनाअनुमति प्राकृतिक सुरक्षा कवचका रूपमा रहेका ढुंगाहरू खोतल्दा खोलाछेउका घरहरू असुरक्षित बन्न पुगेका छन् । अहिले भइरहेको जथाभावी उत्खननको वातावरणीय असर तत्काल नदेखिए पनि भविष्यमा संकट निम्तिने भन्दै स्थानीयबासीले खोलाको ढुंगा उत्खनन् रोक्न माग गरेका छन् ।
प्रगति टोलबाट सुन्दरनगर जोड्ने पुल नहुँदा स्थानीयलाई वर्षायाममा आउजाउ सहज बनाउन पक्की पुल निर्माण कार्य अघि बढाइएको हो । विगतमा पानी पर्नासाथ खोला बढेर बिरामी, वृद्धवृद्धा, गर्भवती र विद्यालय जाने बालबालिकाले ठूलो सास्ती खेप्दै आएका थिए । स्थानीयको यही समस्या समाधान गर्न नगरपालिकाले पुल बनाउन सुरु गरेको हो । तर विकास गर्ने क्रममा भइरहेको यस्तो विनाशकारी गतिविधि नगरपालिकाले रोक्नुपर्ने स्थानीय सिर्जना श्रेष्ठले बताइन् ।
नियमअनुसार स्थानीय तहको अनुमति बिना र तोकिएको कर तथा राजस्व नबुझाई खोला वा सार्वजनिक स्थानबाट ढुंगा, गिट्टी, बालुवा जस्ता सामाग्री निकाल्न पाइँदैन । तर, यहाँ निर्माण कम्पनीले कुनै कर नतिरी प्राकृतिक स्रोतको दोहन गरिरहेको छ । निजी जग्गाबाट ढुंगा निकालेर बिक्री गर्दासमेत नियमन गर्ने नगर प्रहरीको यस तर्फ ध्यान पुगेको छैन ।
पुल निर्माण भइरहेको केही मिटर तल खोला किनारमा तटबन्ध लगाइदैछ । उपभोक्ता समिति मार्फत तटबन्द लगाउने काम भइरहेको भएपनि खोला नै मिचेर लगाइएको तटबन्धले पनि थप क्षति निम्त्याउने खतरा बढाएको छ । तटबन्ध लगाएको स्थानमा पनि खोला गहिरिनेगरी ठूला ढुंगाहरु फुटाएर काम भइरहेको छ ।
विकासको आवरणमा ठेकेदार पक्ष र उपभोक्ता समितिले बाढी छेक्ने ठूला ढुङ्गाहरू नै मेसिन प्रयोग गरेर निकालिएकाले अब आउने बाढीले दायाँबायाँ कटान गर्ने र जमिन भासिएर खोलामा मिसिन सक्ने खतरा बढेको स्थानीय प्रिन्स श्रेठले बताए ।
यसबारे निर्माण कम्पनीका प्रतिनिधिसँग बुझ्न खोज्दा ‘नगरपालिकालाई नै सोध्नुहोस्, मलाई थाहा छैन’ भन्दै पन्छिने गरेका छन् । बर्खामा निम्तिन सक्ने बाढी र कटानको भयले स्थानीय त्रसित छन् ।
