काठमाडौँ। अस्ट्रेलियाको सिड्नीस्थित ‘ह्याम्रो क्लब’ले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको हकहित र अधिकारका पक्षमा सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्लबद्वारा यहाँ आयोजित विशेष कार्यक्रमका वक्ताहरूले अस्ट्रेलियामा रहेको नेपाली समुदाय, मातृभूमि नेपाल र नेपाली जनताका पक्षमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेशमा रहे पनि आफूहरूमा नेपालीपन रहेको र नेपाली भनेर चिनिँदा गौरवको अनुभूति हुने बताउँदै उहाँहरूले अस्ट्रेलियास्थित नेपाली समुदायको सुखदुःख बाँड्ने आशा र भरोसासहित साझा चौतारीका रुपमा ‘क्लब’लाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा कार्यक्रमका सहजकर्ता दिनेश सापकोटाले मातृभूमिप्रतिको माया विदेशमा रहँदा थाहा हुने उल्लेख गर्दै आपसी सहयोग र सद्भाव कायम गरी नेपाली समुदायको उत्थानका पक्षमा ‘क्लब’ रहेको स्पष्ट गर्नुभयोे ।
क्लबका अध्यक्ष राजीव अधिकारीले अस्ट्रेलियन सरकारको विश्वास जिती अग्रजबाट प्राप्त सहयोग र सद्भावलाई समेत समेटेर यहाँस्थित नेपाली समुदायको हकहितमा आफूहरू खटिरहेको जानकारी दिनुभयो ।
सो क्लबको पाँचौँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा सांसद नाथन ह्यागार्टी, काउन्सिलर एलिजा रहमान, पूर्वकाउन्सिलर उषा डोम्माराजु, क्लबका संस्थापक अध्यक्ष अमूल्यप्रताप सिंहलगायत २०० भन्दा बढी नेपाली समुदायको उपस्थिति थियो । कार्यक्रममा ‘क्लब’को नयाँ वेबसाइट औपचारिकरुपमा सार्वजनिक गरिएको थियो ।
यसैगरी विविध खेलकुद प्रतियोगिता, गीतसङ्गीतसहित मनोरञ्जनात्मक कार्यक्रम र प्रतिभा सम्मान कार्यक्रमसमेत सो अवसरमा प्रस्तुत गरिएको थियो ।