काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ । आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।
यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो ।
अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाउनुभएको हो । कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि तोकिएको छ ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये छ सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
कोशीका लागि सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वययंसेवा विभागको प्रमुख, सचिव पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र सचिव भानुभक्त ढकाललाई सङ्गठन विभाग प्रमुख तोकिएको पार्टी कार्यालयले जनाएको छ ।
अन्य सचिवहरू छविलाल विश्वकर्मालाई इञ्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इञ्चार्ज, यमलाल कँडेललाई कर्णाली इञ्चार्ज, शेरधन राईलाई कोशी इञ्चार्ज, डा राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इञ्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इञ्चार्ज तोकिएको छ । कार्यविभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्यलाई तोकिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0