अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यको क्रममा सेयर कारोबारमा लाग्ने पुँजीगत कर नै अन्तिम हुने घोषणा गरे पनि सबैलाई यो व्यवस्था लागू नहुने देखिएको छ।
२०८३/८४ को बजेटसँगै पेस भएको आर्थिक विधेयक २०८३ ले अन्तिम कर कट्टी हुने भुक्तानीमा व्यवस्थामा आय विवरण बुझाउन नचाहने (नपर्ने) व्यक्तिलाई समेटेको छ।
यसको अर्थ यदि सेयर कारोबार गर्ने कसैले नियम अनुसार आय कर बुझाउनु पर्नेछ भने उसले तिरेको पुँजीगत लाभकर मात्रै अन्तिम कर नमानिने भएको हो।
अहिलेको विद्येयकले विभिन्न कारणले आय विवरण बुझाउन नपर्ने व्यक्तिलाई मात्रै अन्तिम कर मानिने व्यवस्था गरेको हो। र, आयकर बुझाउनुपर्ने सेयर लगानीकर्तालाई भने पुँजीगत लाभकर नै अन्तिम कर नहुने भएको हो।
अहिले वार्षिक ४० लाख रुपैयाँभन्दा कम आम्दानी हुने वा गैरव्यावसायिक करयोग्य सम्पत्ति हुनेले पनि आयकर विवरण बुझाउनु पर्दैन।
अब यदि कसैले सेयर कारोबारमा वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ भने उसले बुझाउने पुँजीगत लाभकर नै अन्तिम कर नहुने भएको हो।
त्यस्तै, सेयर जस्ता गैरव्यावसायिक आम्दानी मात्रै हुनेले पनि आयकर विवरण बुझाउनु पर्दैन। तर, सेयर कारोबारबाहेक अन्य आम्दानीका स्रोत समेत हुनेले भने सेयर कारोबारमा तिरेको पुँजीगत लाभकर नै अन्तिम नहुने भएको हो। र, यही कारोबारको कारण भएको आम्दानीमा अन्य कर समेत तिर्नुपर्ने अवस्था हुने देखिएको एक कर विज्ञ बताउँछन्।