भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हो- राष्ट्रपति पौडेल
राष्ट्रिय समाचार समिति

जेष्ठ २२, २०८३

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्त्वपूर्ण माध्यम पनि भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “यसले हाम्रो समाज, जनजीवन, लोकतान्त्रिक मूल्य मान्यता, रूपान्तरण, परिवर्तन, देशप्रेम र सामाजिक न्यायका लागि उत्प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाजमा महत्त्वपूर्ण योगदान दिएको हुन्छ । साथै, साहित्यले समाजलाई जोड्ने, जागरुक बनाउने र उज्यालो भविष्यतर्फ अघि बढाउने सार्मथ्य राख्दछ भन्ने मलाई लाग्दछ ।”

उहाँले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै भन्नुभयो, “आजको नयाँ पुस्ताले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल इतिहासका एक कविका रूपमा मात्र होइन, चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक छ । नेपाली साहित्यको श्रीवृद्धिमा उहाँको योगदान महत्त्वपूर्ण छ ।”

उहाँ आफ्नो समयको चेतना, समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्दमार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व रहेको राष्ट्रपति पौडेलको भनाइ छ । उहाँले तत्कालीन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि युगकवि श्रेष्ठले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चेतनापूर्ण साहित्यिक अभिव्यक्ति र निर्भीक विचारका कारण लामो समयसम्मको कष्टकर कारावासको सजाय भोग्दाका बखत पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी प्रसङ्गबाट उहाँको जीवनको सङ्घर्ष, त्याग र साहित्यप्रतिको निष्ठा बुझ्न सकिन्छ ।”

राष्ट्रपति पौडेलले जन्मभूमिप्रतिको गहिरो माया, राष्ट्रप्रतिको आस्था र नेपाली जनजीवनप्रतिको संवेदनशीलता प्रचुर मात्रामा पाइने युगकवि सिद्धिचरण श्रेष्ठका कवितामध्ये उहाँको रचना ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा डा दुबसु क्षेत्री र डा गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नीलकण्ठ नगरपालिकाद्वारा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई

सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

धादिङपोष्टले ल्यायो ‘धादिङ चिनारी’ स्मारिका

नीलकण्ठ क्याम्पसका युथ रेडक्रस सर्कलद्धारा धादिङबेसीमा सचेतना र्‍याली

‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हो- राष्ट्रपति पौडेल

सुनचाँदीको मूल्य केही घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति