धादिङ । धादिङबेसीबाट सञ्चालित धादिङपोष्ट डटकमले ‘धादिङ चिनारी’ नामक स्मारिका प्रकाशन गरेको छ ।
धादिङ जिल्लाको समग्र वस्तुस्थिति झल्काउने स्मारिकाको शुक्रबार विमोचन गरिएको हो । अनलाइन सञ्चालनको १२ वर्ष पुगेको सुखद उपलक्ष्यमा धादिङपोष्टले जिल्लाको विकास, सञ्चार र समाजमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई शिक्षा, साहित्य, सामाजिक सेवा, युवा प्रतिभा र युवा पत्रकारिता सम्मान समेत प्रदान गरेको छ ।
धादिङ जिल्लाको ओझेलमा परेका ऐतिहासिक स्थलहरू, खेलकुद परम्परा, समाज रूपान्तरणमा योगदान पु¥याउने प्रेरक व्यक्तित्वहरू र समसामयिक सञ्चारको यथार्थ अवस्थालाई अभिलेखीकरण गर्न यो स्मारिका प्रकाशन गरिएको धादिङपोष्टका प्रधानसम्पादक नारायण बहादुर सिलवालले बताउनुभयो ।
नयाँ पुस्तालाई जिल्लाको वास्तविक पहिचान र इतिहासबारे सुसूचित गराउँदै समग्र धादिङको पर्यटन, उद्योग र संस्कृतिको प्रवद्र्धन गर्ने एवं ओझेलमा परेका गौरवहरूलाई राज्यको मूलधारमा ल्याउन झक्झक्याउने उद्देश्यले नै ‘धादिङ चिनारी’ स्मारिकालाई पाठकमाझ ल्याइएको प्रधानसम्पादक सिलवालले जानकारी दिनुभयो ।
विमोचित ‘धादिङ चिनारी’ स्मारिकाभित्र धादिङ जिल्लाको समग्र इतिहास, पहिचान, खेलकुद, विशिष्ट व्यक्तित्व र समसामयिक सञ्चार क्षेत्रका विविध पाटा र मुख्य विषयहरूलाई समेटिएको छ । स्मारिकाको पहिलो खण्डमा ओझेलमा पर्दै गएका तर सम्झनै पर्ने पुराना ऐतिहासिक कुराहरू, धादिङको शिरका रूपमा परिचित रहस्यमय, धार्मिक र प्राकृतिक सौन्दर्यको धरोहर सिङ्ल्हाको महत्व, संरक्षणको पर्खाइमा रहेका ऐतिहासिक घले दरबारका तीन गढीहरू तथा साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा उदाइरहेको चरौंदी झरनाको विस्तृत विवरण समेटिएको छ ।
स्मारिकाको दोस्रो खण्डमा धादिङको खेलकुद विशेषलाई जोड दिँदै धादिङ क्रिकेटको इतिहासदेखि वर्तमानसम्मको गौरवपूर्ण यात्रा, क्रिकेटका तीन पुस्ताहरू उदय बहादुर थापा, राजु राना र अमृत थापाको प्रेरणादायी कथा, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शेर लामाको योगदान र धादिङको फुटबॉल इतिहासको गौरवमय यात्रालाई पुस्तकमा लिपिबद्ध गरिएको छ ।
स्मारिकाको तेस्रो खण्डमा लोक दाहालको संघर्ष, सफलता र सेवाको प्रेरक यात्रा, मनोज कुमार श्रेष्ठ (गोरखाली) को योगदान, संघर्षका पर्याय युवराज खतिवडाको प्रेरणादायी जीवनयात्रा र धादिङका उत्कृष्ट गणित शिक्षक सुरेन्द्र प्रसाद शाहको अनुकरणीय व्यक्तित्वलाई प्रस्तुत गरिएको छ ।
सञ्चार र समाजको समकालीन दृष्टिलाई उजागर गर्ने चौथो खण्डमा प्रवासी समुदाय र मातृभूमिबीचको डिजिटल सेतु, पत्रकारका सुख–दुःखका अनुभूति, धादिङमा अनलाइन पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको यथार्थ चित्र र टिकाउ पत्रकारिताको बाटोबारे विश्लेषण गरिएको छ ।
साथै कृषकको आवाजदेखि समुदायको भरोसासम्म बनेको कृषि रेडियोको प्रेरणादायी यात्रा, धादिङ–रसुवाको सिमानामा रहेको ७० अर्बको खानी र २१ वर्षदेखि बन्द रहेको गणेश हिमालको औद्योगिक सपना जस्ता आर्थिक एवं औद्योगिक महत्वका विषय र धादिङलाई देश–विदेशमा चिनाउने ११ वटा प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू स्मारिकामा समेटिएको छ ।

