धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा भएका स्वीकृत योजना तथा कार्यक्रमबारे सार्वजनिक सुनुवाई गरेको छ ।
नगरपालिकाले आफ्नो कामकारबाहीलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
सार्वजकि सुनुवाईमा उठेका विषयहरुलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले नगरको विकास र समृद्धिका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताए । जनताका आवश्यकता र भावनालाई कदर गर्दै आगामी दिनमा योजनाहरूलाई थप प्रभावकारी र जनतामुखी बनाइने प्रतिबद्धता व्यक्त गरे ।
विकास निर्माणका कार्यमा जनताको प्रत्यक्ष सहभागिता र निगरानीले नै वास्तविक लोकतन्त्रको महसुस गराउने भन्दै मेयर ढुंगानाले नगरबासीबाट प्राप्त रचनात्मक सुझाव र आलोचनालाई आत्मसाथ गर्दै अघि बढ्ने स्पष्ट पारे ।
नगरपालिकाले महिला, बालबालिका, लक्षित वर्ग र शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा उल्लेख्य बजेट र कार्यक्रमहरू परिचालन गरेको नगर उपप्रमुख (उपमेयर) दिपक विश्वकर्माले बताए । न्यायिक समिति तथा अनुगमन समितिको तर्फबाट भएका कामहरू पारदर्शी ढंगले अगाडि बढिरहेको जानकारी दिँदै न्यायिक सम्पादन र योजनाहरूको गुणस्तरमा कुनै सम्झौता नगरिने दृढता व्यक्त गरे । नगरपालिकाको सेवा प्रवाहलाई अझ बढी प्रविधिमैत्री र सहज बनाउन निरन्तर प्रयास भइरहेको समेत उल्लेख उपमेयर विश्वकर्माले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सेवाग्राहीहरूले नगरपालिकाले पूर्वाधार विकास, कृषि अनुदान वितरण र सामाजिक सुरक्षा भत्ता वितरणमा देखाएको सक्रियता तथा सहजताका लागि प्रशंसा गरेका थिए । विशेषगरी ग्रामीण क्षेत्रका सडक सञ्जालको विस्तार र स्वास्थ्य चौकीहरूको स्तरोन्नतिबारे आफ्नो धारणा राखेका थिए ।
सेवाग्राहीहरूले केही योजनाहरूको कार्यान्वयनमा भएको ढिलासुस्ती, खानेपानी वितरणमा देखिएको समस्या, र प्रशासनिक सेवा लिँदा भोग्नुपर्ने झन्झटिला प्रक्रियाका बारेमा आफ्ना गुनासा तथा प्रश्नहरू समेत राखेका थिए ।

