धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले एसइई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजारसहित पुरस्कृत गरेको छ ।
नगरपालिकाभित्रका विद्यालयहरुबाट चार जिपिए ल्याउने पाँच जनालाई सम्मानसहित पुरस्कृत गरेको हो ।
चार जिपिए ल्याएर पुरस्कृत हनेहरुमा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विपिसा सुवेदी, दिप्सन छत्कुली, प्रशंसा गुरुङ, नविना श्रेष्ठ र न्यू किबो आवासीय माध्यमिक विद्यालयकी रोजिना चौलागाइ हुन् । एसइईमा शतप्रतिशत विद्यार्थी पास गराउने विद्यालय र शिक्षकलाई पनि सम्मान गरेको छ ।
नगरपालिकाले शैक्षिक सत्र २०८२ मा आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षामा शतप्रतिशन विद्यार्थी पास गराउने ९ ओटा विद्यालयलाई ५० हजारका दरले नगदसहित पुरस्कृत गरेको छ । कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने विभिन्न विद्यालयका १२ जना विद्यार्थीलाई जनही १० हजारका दरले पुरस्कृत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले गुणस्तरीय शिक्षाका लागि लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने धारणा व्यक्त गरे ।
