रुवीभ्यालीको कालो र सेतो दह जाने पदमार्ग निर्माण
पाविलन्युज

जेष्ठ २५, २०८३

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ ।
भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको पदमार्ग निर्माण गरिएको स्थानीय पथप्रदर्शक मार्कुस तामाङले जानकारी दिनुभयो ।

वडा नं १ लिङ्जो गाउँका स्थानीय बासिन्दाले २१ दिनसम्म श्रमदान गरेर बाबिल खर्कदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको हर्ची पाससम्म गोरेटो पदमार्ग निर्माण गरेका हुन् । स्थानीयले आफै श्रमदान सुरु गरेपछि रुबीभ्याली गाउँपालिका वडा नं १ को रु १५ लाख आर्थिक सहयोग गरेको छ ।

पदमार्ग निर्माणका क्रममा चार हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भूभागमा काम सम्पन्न गरेको वडा अध्यक्ष पम्वर तामाङले जानकारी दिनुभयो । आगामी वर्षको बजेटबाट पर्यटक प्रतिक्षालय र अन्य पूर्वाधार निर्माणमा सहयोग गर्ने वडाअध्यक्ष तामाङले बताउनुभयो ।

पदमार्ग निर्माणमा स्थानीय युवाले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोरेका थिए भने महिलाले ढुंगा बोकेर सिँढी बनाउन सहयोग गरेका थिए । अक्सिजनको कमी हुने उचाइमा समेत स्थानीय खटिएर निर्माण कार्य सम्पन्न गरेकोा वडाअध्यक्ष तामाङले प्रशंसा गर्नुभएको छ ।सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पास पुग्ने पर्यटकलाई सहजता थप्ने विश्वास गरिएको छ ।

पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय स्तरमा रोजगारीका अवसर विस्तार हुने स्थानीयले अपेक्षा गरेका छन् । पदमार्गले गाउँको भविष्यको बाटो कोरेको र यसबाट पर्यटन विकासमा ठूलो टेवा पुग्ने भन्दै स्थानीय अगुवा पुर्ने लामा तामाङले खुसी सुनाउनुभयो । राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने पाँच हजार मिटरसम्मको यो पदयात्रा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पदमार्ग महत्वपूर्ण माध्यम बन्नेछ ।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
पाविलन्युज