धादिङ । धादिङकी नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लक्ष्मी पाण्डेले जिल्लामा शान्ति सुरक्षा कायम गर्नु र नागरिकलाई सुशासनको अनुभूति दिलाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
सोमबारबाट धादिङको प्रशासनिक कमाण्ड सम्हाल्नुभएकी प्रजिअ पाण्डेले मंगलबार स्थानीय पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै उहाँले नागरिकको सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभयो ।
पत्रकारहरूसँगको कुराकानीमा प्रजिअ पाण्डेले भन्नुभयो, “धादिङ हिमाल, पहाड र तराई तीनै भूगोल समेटिएको र देशकै व्यस्त राजमार्ग जोडिएको विशिष्ट जिल्ला हो । यहाँको शान्ति सुरक्षा, राजमार्गको व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणमा हाम्रो विशेष ध्यान केन्द्रित हुनेछ । जिल्लाको सेवा प्रवाहलाई चुस्त–दुरुस्त, भ्रष्टाचाररहित, निष्पक्ष र नागरिकमैत्री बनाउन म सबै सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्नेछु ।”
उहाँले जिल्लाको विकास र सुशासनका लागि सञ्चार जगत्को भूमिका महत्वपूर्ण हुने भन्दै रचनात्मक सुझाव र सहकार्यका लागि पत्रकारहरूसँग आग्रह समेत गर्नुभयो । पाण्डे धादिङ जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्ने दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।