धादिङ । नयाँ वर्ष २०८३ साल सुरु भएयता धादिङ जिल्लामा प्रतिलिपि नागरिकता लिनेको संख्या उल्लेख्य रूपमा बढेको छ ।
बैंक, वित्तीय संस्था तथा सरकारी कार्यालयहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै पुरानो नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्यामा वृद्धि भएको हो ।
यो वर्षको पहिलो र दोश्रो महिनामा जिल्ला प्रशासन कार्यालय धादिङबाट दुई हजार छ सय चारवटा नयाँ नागरिकता जारी हुँदा दुई हजार एक सय ९१ जनाले प्रतिलिपि नागरिकता लिएका छन् ।
नयाँ नागरिकता जारी हुने दरकै हाराहारीमा पुरानो नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्या पनि बढेको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ओम प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक (औँलाको छाप र आँखाको स्क्यान) गर्दा नागरिकताको विवरण स्पष्ट हुनुपर्ने कानुनी व्यवस्था छ । विगतमा नागरिकता स्पष्ट नभएका वा मेटिएका कारण अहिले परिचयपत्र बनाउन समस्या भएपछि नागरिकहरू प्रतिलिपि लिन आउने क्रम बढेको सूचना अधिकारी भट्टराईको भनाई छ ।
‘यसअघि नागरिकहरुलाई अभिलेखमा आफ्नो विवरण छ वा छैन भन्ने खासै चासो समेत हुँदैन थियो, राष्ट्रिय परिचयपत्र अनिवार्य लागू गरिएपछि नागरिकताको शुद्धता खोजी हुन थाल्यो र यसले गर्दा प्रतिलिपि लिनेहरूको संख्या नयाँ नागरिकता बनाउने सरह नै पुगेको छ’, भट्टराइले भन्नुभयो ।
नागरिकताको शुद्धता खोजी गर्ने क्रममा प्रशासनको स्रेस्ता वा अभिलेखमा विवरण नभेटिएका व्यक्तिहरू, विवाहपछि श्रीमानको नाम कायम गराउन आउने महिलाहरू तथा नागरिकता हराएर नयाँ प्रतिलिपि बनाउन आउनेहरूको भीडका कारण पनि जिल्ला प्रशासन कार्यालय धादिङमा नयाँ नागरिकता र प्रतिलिपि बनाउनेको संख्या झण्डै उस्तै–उस्तै देखिएको छ ।