धादिङ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई च्याउ खेती सम्बन्धी दुई दिनको तालिम दिइएको छ । सदस्यहरुलाई आफैं आत्मानिर्भर बनाउने उद्देश्यसहित त्रिपुरेश्वर खहरे शाखामा आवद्ध सदस्यहरुलाई तालिम उपलब्ध गराएको हो ।
नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा दुई दिनसम्म संचालन भएको तालिम समापन कार्यक्रममा बोल्दै निर्धन उत्थान लघुवित्तका अध्यक्ष जनार्दनदेव पन्तले संस्थामा आवद्ध महिलाहरुलाई व्यवसायिक र आर्थिक समृद्ध बनाउन तालिम दिइएको बताए । वित्तीय संस्थाबाट लिएको ऋण जुन प्रयोजनमा लिएको हो सोही प्रयोजनमा प्रयोग गर्न पन्तले सल्लाह दिए ।
ऋणको सहि सदुपयोग भए मात्रै आर्थिक तथा सामाजिक स्थिति मजबुद बन्ने उनले स्पष्ट शाखा प्रमुख पुरुषोत्तम खनालले बताए । तालिममा सिकेको सीप प्रयोग गरेर आफ्नो उत्पादन बढाउन सके बजारीकरणमा सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
तालिममा च्याउ खेतीका लागि आवश्यक कच्चापदार्थ, उमार्ने तरिका र बजारीकरणको बारेमा जानकारी गराइएको प्रशिक्षक बिष्णु प्रसाद पोखरेलले बताए ।
तालिम समापनको अवसरमा एक जना छात्र र एक जना छात्रालाई हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरिएको छ । तालिम प्रभावकारी रहेको र यसले व्यवहारिक जीवनमा आयआर्जन गर्न सहयोग गर्ने सहभागीहरुले बताएका छन् ।
