धादिङ । गणित शिक्षा परिषद धादिङको पाँचौं जिल्ला अधिवेशनबाट उत्तम भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
शनिबार धादिङबेसीमा सम्पन्न अधिवेशनले भट्टको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा अनुप कोइराला र सहसचिवमा रमेश गुरुङ चयन हुनुभएको छ भने सदस्यहरूमा चित्र गुरुङ, कृष्ण नारायण श्रेष्ठ, राधिका सिंखडा, सोमनाथ पाठक, किरण गुरुङ र नारायण सुवेदी निर्वाचित हुनुभएको छ ।
गणित विषयलाई व्यवहारिक जीवनसँग जोड्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष उत्तम भट्टले बताउनुभएको छ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री र विद्यार्थीमैत्री बनाउन सक्रिय रहने नवनिर्वाचित भट्टले बताउनुभयो ।
जिल्लाका गणित शिक्षकहरूलाई एकीकृत गर्दै सबै स्थानीय तहहरूमा परिषदको संजाल विस्तार गर्ने योजना उहाँले बताउनुभयो । “अहिलेको मुख्य चुनौती भनेकै गणित विषयलाई विद्यार्थीहरूका लागि रुचिपूर्ण बनाउनु र यस प्रति उनीहरूलाई आकर्षित गराउनु हो । त्यसका लागि हामी छिट्टै धादिङका सबै पालिका स्तरमा परिषद गठन गरेर अभियान चलाउने छौँ”, भट्टले भन्नुभयो ।
परिषदले मुख्यतया जिल्लाभरका गणित शिक्षकहरूबीच पेशागत हकहित, क्षमता अभिवृद्धि र शिक्षण विधिमा सुधारको काम गर्दै आएको छ । गणित विषयप्रतिको परम्परागत त्रास हटाउन आधुनिक र प्रयोगात्मक शिक्षण विधिको प्रवद्र्धन गर्ने, शिक्षकहरूलाई नयाँ पाठ्यक्रम र प्रविधिको प्रयोगबारे समयसापेक्ष तालिम तथा प्रशिक्षण प्रदान गर्ने र विद्यार्थीहरूमा गणितीय क्षमता विकास गर्न विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।