काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचानको अभिव्यक्ति भएको बताउनुभएको छ ।
आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८३’ मा उहाँले कुनै राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “चलचित्रले सम्बन्धित राष्ट्रको आत्मालाई अभिव्यक्त गरिरहेको हुन्छ, समाजको मनोविज्ञानलाई उजागर गरिरहेको हुन्छ र भविष्यको एउटा सम्भावित कल्पना पनि गरिरहेको हुन्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो ।
उहाँले कलाकारहरू समाजकै सदस्य भए पनि सामान्य मानिसभन्दा बढी संवेदनशील दृष्टि भएका व्यक्तित्व भएको उल्लेख गर्दै कला र सिर्जनाले विभाजित समाजलाई मानवीय सम्बन्ध, सहअस्तित्व र संवेदनाको पाठ सिकाउने बताउनुभयो ।
कलाकारलाई सम्मान गर्नु भनेको व्यक्तिलाई मात्र नभई समाजको सिर्जनशील चेतना र आफ्नै सांस्कृतिक अस्तित्वलाई सम्मान गर्नु भएको उहाँको भनाइ थियो । जीवनभर चलचित्र क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्दा आफूहरूले कलाकारलाई नभई आफ्नै समाज र संस्कृतिलाई सम्मान गरेको अनुभूति भएको उहाँले बताउनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले कठिन परिस्थितिका बाबजुद नेपाली चलचित्र उद्योगले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुभयो । पुराना पुस्ताका चलचित्रकर्मीको अथक परिश्रमकै कारण नेपाली चलचित्र आजको अवस्थामा आइपुगेको उहाँले स्मरण गर्नुभयो । उहाँले नेपाली चलचित्र क्षेत्रको अपेक्षाअनुसार समयसापेक्ष र व्यावहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
“नयाँ चलचित्र ऐन समयसापेक्ष, व्यावहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्छ । चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध छ, र म आज पुनः यही प्रतिबद्धता दोहोर्याउन चाहन्छु,”उहाँले भन्नुभयो ।
चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्रकर्मीहरूसँग निरन्तर संवाद र छलफल गर्दै ती विषयहरूको समाधानका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । “सरकारको काम सिर्जनशील क्षेत्रलाई निर्देशन दिने वा नियन्त्रण गर्ने होइन, बरु त्यसको विकास र प्रवद्र्धनका लागि अनुकूल वातावरण निर्माण गर्नु हो”, उहाँले भन्नुभयो, “त्यो वातावरण ऐनमार्फत होस्, अन्य नीतिगत व्यवस्थामार्फत होस् वा सहजीकरणका विभिन्न संयन्त्रमार्फत होस, सरकार त्यसका लागि पूर्ण रूपमा तत्पर छ ।”
श्रेष्ठ सम्मानित
चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको दीर्घ साधना सम्मानबाट यसवर्ष अभिनेता मदनकृष्ण श्रेष्ठ सम्मानित हुनुभएको छ ।
त्यस्तै, उत्कृष्ट चलचित्रका रुपमा ऊनको स्वीटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपकप्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्रका रुपमा इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0