धादिङ । प्रेस चौतारी नेपाल धादिङ र काभ्रे शाखाका पत्रकारहरूले पछिल्लो राजनीतिक अवस्था र संगठनको भूमिकाको विषयमा छलफल गरेका छन् ।
अन्तर–जिल्ला भ्रमणको क्रममा धादिङ आइपुगेको प्रेस चौतारी काभ्रेको टोली र प्रेस चौतारी धादिङमा आबद्ध पत्रकारहरूले सांगठनिक अनुभव, कार्यशैली र भावी कार्ययोजनाबारे छलफल गरेका हुन् ।
देशमा विकसित पछिल्लो राजनीतिक चेतनाले सामाजिक रूपान्तरण र सुशासनका लागि सञ्चार जगतको भूमिकालाई अझ महत्वपूर्ण बनाएको सन्दर्भमा प्रेस चौतारी नेपाल, काभ्रेपलाञ्चोकले अन्तर–जिल्ला भ्रमण अभियान सुरु गरेको हो ।
अभियानका क्रममा दुवै जिल्लाका पत्रकारहरूले नयाँ राजनीतिक वातावरण, संगठनको वर्तमान अवस्था र श्रमजीवी पत्रकारका समस्याबारे गहन छलफल गरेका छन् । कार्यक्षेत्रका भोगाइहरू साटासाट गर्दै दुवै जिल्लाका सञ्चारकर्मीहरूले आगामी दिनमा व्यावसायिक पत्रकारिताको विकास र पेसागत हकहितका लागि बलियो सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
बदलिँदो सामाजिक परिवेशमा व्यावसायिक मर्यादा कायम राख्दै संगठनलाई चलायमान बनाउन र पत्रकारहरूका पेसागत समस्या समाधान गर्न यस्ता अन्तर–जिल्ला भ्रमणले स्पष्ट मार्गचित्र कोर्ने प्रेस चौतारी धादिङका नेता एवं नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले विश्वास व्यक्त गर्नुभयो । धादिङको समग्र सञ्चार क्षेत्र, पत्रकारिताको अभ्यास र स्थानीय वातावरणबारे प्रष्ट्याउँदै अध्यक्ष अधिकारीले पत्रकारितामा नयाँ पुस्ताको भावना र उर्जालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदार तिमल्सिनाले काभ्रे शाखामा भइरहेका गतिविधि र आगामी दिनका लागि तय गरिएका सकारात्मक योजनाहरूबारे जानकारी गराउनुभयो । धादिङ जिल्लाको संगठनको अवस्था, पत्रकारहरूको सक्रियता र चुनौतीबारे भने प्रेस चौतारी नेपालका केन्द्रीय पार्षद केशव अधिकारीले प्रकाश पार्नुभयो । जिल्लाको संगठनको वस्तुस्थिति, पत्रकारहरूको दैनिक गतिविधि, कार्यक्षेत्रका भोगाइ र साना लगानीका सञ्चार माध्यमले ब्यहोर्नुपरेका संकट र चुनौतीबारे जानकारी गराउनुभएको थियो ।
‘जेनजी’ आन्दोलनपछि मुलुक सकारात्मक रूपान्तरण र नयाँ राजनीतिक चेतनाको दिशामा अघि बढिरहेका बेला पत्रकारहरू बीचको यस्तो अन्तर–जिल्ला संवादले पत्रकारिता क्षेत्रमा नयाँ उत्साह थपेको सहभागीहरूले बताएका थिए ।
भेटका क्रममा दुवै जिल्लाका संगठनका प्रतिनिधिहरूले एक–अर्कालाई मायाको चिनो समेत आदान–प्रदान गरेका थिए ।



