रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
राष्ट्रिय समाचार समिति

असार १०, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ ।

रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।

अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घाषणा गर्नुहुने नेपाल सरकारका मन्त्रीसहित सांसद तथा नेतागणसमेत प्रचारप्रसारमा व्यस्त हुँदा चुनावी माहोल तातेको छ ।

पार्टीसम्बद्ध केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची सार्वजनिक गरी नसकेकाले कति जना मन्त्री उम्मेदवार हुनुहुन्छ भन्ने स्पष्ट नभए पनि केही मन्त्रीहरुलाई भ्याइनभ्याइ मत मागिरहनुभएको छ ।

बिहानैदेखि महाधिवेशन परिसरमा उम्मेदवारी घोषणा गर्नुभएका मन्त्री र सांसदका शुभेच्छुक तथा कार्यकर्ता प्रचारप्रसारका सामग्री बाँडी मत मागिरहनुभएको देखिन्छ । उम्मेदवारको सङ्ख्या धेरै भएको र सबैलाई चिन्न नसक्ने भएकाले मत माग्नुपरेको उहाँहरुको भनाइ छ ।

महत्वपूर्ण पदमा रहेकालाई पराजित हुने डर भएकाले दुईदिन अघिदेखि नै मत माग्न थालेको बताउँदै पार्टीका केन्द्रीय सदस्य राजन गौतमले भन्नुभयो, “मन्त्री, सांसद र नेताहरुले निरन्तर फोन गर्दै भोट मागिरहनुभएको छ, निर्वाचनका क्रममा यसलाई स्वभाविक रुपमै लिनुपर्दछ ।”

नेता गौतमले पर्चा, पम्प्लेट, गीत, झाँकी, समाचार र सामाजिक सञ्जालको प्रयोग गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको अवस्थामा उद्योग सङघको परिसरभित्र पर्चा पम्प्लेटलगायतका प्रचार सामग्री निषेध गरिएको बताउनुभयो ।

रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तथा निर्वाचित सदस्य मात्र दास्रो चरणमा हुने निर्वाचनमा उम्मेदवार पाउने व्यवस्था रहेकाले सदस्यको निर्वाचनले प्राथमिकता पाएको रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेल बताउनुहुन्छ ।

उहाँले महाधिवेशनमा चार हजार बढी प्रतिनिधिले मताधिकार प्रयोग गर्ने चितवन महाधिवेशनमा ९९ सदस्य पदका लागि हुने निर्वाचनमा चार सयभन्दा बढीको उम्मेदवारी पर्ने देखिएको अवस्थामा अहिले व्यापक रुपमा प्रचारप्रसार हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।

राजनीतिक विश्लेषकका अनुसार रास्वपाको यसअघि प्रदेशहरुमा सम्पन्न निर्वाचनमा पार्टीका संस्थापक नेता एवं सांसदहरु समेत अप्रत्यासित रुपमा पराजित भएकाले पनि पदमा रहेकाहरु चुनाव प्रचारप्रसारमा खटिन बाध्य हुनुपरेको हो ।

पार्टीको ९९ निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्य पदका लागि विद्युतीय मतदान प्रक्रियामार्फत हुने निर्वाचनमा ४०० भन्दा बढीको उम्मेदवारी परेको छ । खुलातर्फको भन्दा पनि क्लस्टरबाट धेरै सदस्य निर्वाचित हुने प्रावधान भएकाले निर्वाचन थप पेचिलो बनेको देखिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति