धादिङ । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ ।
परम्परागत र रैथाने शैलीको खेती प्रणालीलाई त्याग्दै किसानहरूले वैज्ञानिक विधिको अवलम्बन गरेपछि तरकारी उत्पादनमा दोब्बरले बढेको हो ।
विगतमा दुई सय किलो भण्टा उत्पादन हुने गरेको एउटै पाटामा अहिले चार सय किलोसम्म फल्न थालेको अगुवा कृषक कृष्ण अधिकारीले बताउनुभयो । अधिकारी भन्नुहुन्छ, “भण्टा र भिण्डी लगाउँदा गोडमेल गर्न र टिप्न सजिलो हुन्छ भनेर पहिले हामी पातलो गरी बोटहरू साथ्र्यौं । अहिले बिरुवा सार्ने बेलैमा सेन्टीमिटर नापेर लगाउँछौं । निश्चित दूरीमा धेरै बोटहरू भएपछि उत्पादन पनि धेरै हुने रहेछ ।”
खेतबारीमै प्राविधिक सेवा र सल्लाह पाउन थालेपछि पिपलटारका कृषकहरू उत्पादन बढाउन सफल भएका हुन् । “पहिला खेती गर्ने सही तरिका र प्रविधि थाहा थिएन, अहिले प्राविधिकहरू खेतबारीमै आएर तरकारी लगाउने तरिकाहरु सिकाउनुहुन्छ, रागकिराबारे जानकारी भनिदिनुहुन्छ, उत्पादन पनि बढेको छ”, अधिकारीले विगत र वर्तमान सुनाउनुभयो ।
पिपलटारका किसानहरूले यसअघि तरकारी खेती नगरेका भने होइनन् । यहाँका किसानहरूले वर्षौंदेखि परम्परागत ढंगबाटै विभिन्न जातका तरकारी उत्पादन गरेर जेनतेन जीविकोपार्जन गरिरहेकै थिए । तर, विगत दुई वर्षअघिदेखि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप)ले किसानको खेतबारीमै पुगेर प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि उत्पादनसँगै आम्दानीमा पनि बृद्धि भएको किसानहरुले बताएका छन् ।
हाल पिपलटारका फाँटहरू घिरौँला, बोडी, भिण्डी, चिचिन्डो, लौका, करेला र भण्टा जस्ता मौसमी तथा बेमौसमी तरकारीहरूले भरिभराउ छन् । पिपलटारसहित सिद्दलेक–७ मा करिब पाँच सय किसानहरुले तरकारी खिेती गरिरहेका छन् । अहिले यहाँका एक जना किसानले एक लट तरकारी टिप्दा एक हजार किलोसम्म संकलन गर्ने गरेका छन् ।
खेती गर्ने सही तरिका र विधि थाहा नहुँदा पहिले दुःख बढी र उत्पादन कम हुन्थ्यो, अहिले दुःख कम उत्पादन भइरहेको स्थानीय कृषक सुनिता कोइराल बिसुन्केले बताउनुभयो । विगतमा सामान्य तरिकाले खेती गर्दै आएका स्थानीय कृषकहरू अहिले प्रविधिको सही सदुपयोगका कारण व्यावसायिक रूपमा थप उत्साहित बनेकाको बिसुन्केको भनाई छ ।
पिपलटारमा उत्पादित तरकारीको संकलन र बजारीकरणलाई व्यवस्थित गर्न खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) र सिद्धलेक गाउँपालिकाको समन्वयमा स्थानीय स्तरमै तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँमै संकलन केन्द्र स्थापना भएपछि किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्न सहज भएको छ ।
तरकारी व्यवसायमा लामो समयदेखि जरा गाडेर बसेको बिचौलिया प्रथाबाट पनि किसानले केही हदसम्म राहत पाएका छन् । तर, बजारको उतारचढावका कारण उत्पादित तरकारीले अझै उपयुक्त मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ ।
तरकारी उत्पादनमा क्रान्ति नै आए पनि मूल्य निश्चित हुँदा कृषकहरू पूर्ण सन्तुष्ट भने छैनन् । बिसुन्के भन्नुहुन्छ, “पहिले परम्परागत तरिकाले बीउ राख्थ्यौं र पुरानै शैलीले लगाउँथ्यौं, उत्पादन निकै कम हुन्थ्यो । अहिले प्रविधिले उत्पादन त बढाएको छ तर आम्दानी भने अझै सोचेजस्तो हुन सकेको छैन ।”
पिपलटारका अधिकांश किसानहरू तरकारी खेतीमै आश्रित छन् र वडा नम्बर ७ का झण्डै आधा घरपरिवारको प्रमुख आर्थिक स्रोत नै तरकारी व्यवसाय हो । उत्पादनको परिमाण र गुणस्तर सुधानमा सकारात्मक परिवर्तन आएसँगै सरकारले बजारको ग्यारेन्टी गरेर उचित मूल्य दिलाउन सके किसानलाई राहत हुने अगुवा किसान सीता गिरीले बताउनुभयो ।

