धादिङ । बर्खायाम सुरु भएसँगै धादिङबेसीका ग्रामीण तथा सहरी क्षेत्रमा रहेका तेल पेल्ने मिलहरूमा हिजोआज किसानको भिड लागेको छ ।
वर्षात्को समयमा खेतीपातीमा व्यस्त हुनुपर्ने र ग्रामीण भेगबाट बाढीपहिरोका कारण बजार क्षेत्रका मिलसम्म आउन कठिन हुने भएपछि किसानहरू वर्षभरिका लागि तेलको जोहो गर्न लागिपरेका हुन् ।
विशेषगरी ग्रामीण क्षेत्रका सडकहरू अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै महिला तथा पुरुष किसानहरू तोरी र अन्य तेलहन बाली बोकेर मिलमा जाने क्रम बढेको हो । तोरी पेलेर खाँदा तेलका लागि अतिरिक्त पैसा खर्च गर्नु नपर्ने र आर्थिक बचत समेत हुने भएकाले आफ्नै श्रम र पसिनाबाट उत्पादित तोरी बोकेर तेल पेल्न आएको नीलकण्ठ नगरपालिका–४ की सीता श्रेष्ठले बताउनुभयो ।
“असार र साउन महिना मानो खाएर मुरी उब्जाउने महिना हो । धान रोपाइ सुरु गरेपछि नसकिउन्जेल निस्किन पाइदैन । त्यसैले बर्सेनि रोपाइ सुरु गर्नुअगाडि नै तेलसहित खाद्यवस्तुको जोहो गर्ने गरेका छौं”,नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित न्यौपाने तेल मिलमा भेटिनुभएकी श्रेष्ठले भन्नुभयो ।
धादिङबेसीका तेल मिलहरुमा दैनिक दुई सयसम्म किसानहरु तेल पेल्न आइपुग्ने गरेका छन् । एक जना किसानले एक बोरा, दुई बोला तोरी तथा तेलजन्य बाली लिएर आउने गरेको मिल संचालहरुको भनाई छ ।
विहानदेखि बेलुकासम्म लाइनमा बस्दा पनि पालो नपाएका किसानहरु रातीसम्म बसेपनि तेल पेलेरै फर्किने गरेका छन् । बर्खा लागेपछि ग्रामीण सडकहरु बन्द हुन्छ, गाडी आउजाउ राकिन्छ । टाढादेखि भारी बोकेर आउन कठिन हुन्छ । त्यसैले पनि बर्खे पानीले बाटो बिगार्नु अगाडि नै तेल तथा खाद्य वस्तुको जोहो गर्नु आफुहरुको बाध्यता रहेको खनियाबासकी छेङरानी घलेले बताउनुभयो ।
बजारमा पाइने प्याकेटका तेलको तुलनामा आफ्नै बारीमा फलेको तोरीबाट निकालिएको तेल स्वास्थ्यका लागि निकै उत्तम, शुद्ध र स्वादिलो हुने उपभोक्ताहरूको अनुभव छ । भदौ, असोज र चैत महिनामा आफ्नै खेतबारीमा तोरी लगाउने र वर्षभरि त्यसैलाई पिँधेर उपभोग गर्ने गरेको मुरलीभञ्ज्याङका किसान पूर्णबहादुर लम्सालले सुनाउनुभयो । बजारमा पाइने तेलमा अनेकौँ किसिमका मिसावट हुन सक्ने भएकोले आफूहरूले आफ्नै उत्पादनलाई प्राथमिकता दिएको र घरमा तेल सकिएको विशेष परिस्थितिमा मात्रै बजारको तेल किन्ने गरेको उहाँको भनाइ छ ।
विकट वस्ती रुबीभ्यालीको तिप्लिङ, लापा, सेर्तुङजस्ता दुर्गम क्षेत्रबाट समेत किसानहरू तोरी पेल्न धादिङबेसी आउने गरेका छन् । किसानहरुले आफुलाई चाहिनेजत्ति तेल पेलेर बाँकी बसेको तोरी मिल विक्रिको लागि पनि ल्याउने गरेका छन् ।

