धादिङ । धादिङ उद्योग वाणिज्य संघमा संचालित व्यवसाय संवर्द्वन सेवा तालिम आजबाट सकिएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको साझेदारीमा गत वैशाख महिनादेखि निरन्तर सञ्चालनमा रहेको तालिमको आज विषेश कार्यक्रमसहित समापन गरिएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले धादिङ जिल्लाभित्रका युवा, महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूमा उद्यमशील बनाउन तालिम संचालन गरिएको बताउनुभयो । नयाँ तथा सम्भावित उद्यमीहरूलाई तालिम मार्फत नवीनतम ज्ञान र सीप प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
समापन कार्यक्रम उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले तालिममा सहभागी नवउद्यमीहरूलाई सफल व्यावसायिक यात्राको शुभकामना दिँदै उद्यमीहरूको सहजीकरणका लागि कार्यालयको सेवालाई आगामी दिनमा अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, समापन सत्रमा धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी, उद्योग उपाध्यक्ष गोविन्द भण्डारी, महिला उपाध्यक्ष रेखा पण्डित अधिकारी र सदस्य अशोक बस्नेतले जिल्लामा उद्यमशीलताको जग बलियो बनाउन र निजी क्षेत्रको प्रवद्र्धन गर्न संघले सदैव अभिभावकीय भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।
तालिममा व्यावसायिक योजना निर्माण, वित्तीय व्यवस्थापन र बजारीकरणबारे जानकारी गराइएको छ । व्यवसाय संवद्र्धन सेवा कार्यक्रम सञ्चालनको प्रक्रिया, उद्यमीहरूको स्वमूल्याङ्कन, व्यावसायिक योजना निर्माण, नीतिगत तथा कानुनी परामर्श र बजारीकरण रणनीति निर्माण जस्ता आधारभूत एवं व्यवहारिक विषयहरू सिकाइएको संघका प्रमुख कार्यकारी अधिकृत रमेश अधिकारीले बताउनुभयो ।
युवा तथा लक्षित वर्गलाई उद्यम व्यवसायमा आकर्षित गरी प्रतिस्पर्धात्मक व्यवसाय विकासमा सहायता पु¥याउने उद्देश्यसहित सञ्चालित तालिममा १७ जना नवउद्यमीहरू सहभागी थिए । तालिममा सहभागी नवउद्यमीहरूले तालिमका क्रममा तयार पारेका आ–आफ्ना व्यावसायिक योजनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दीर्घकालीन प्रभावकारिता र दिगोपनाका लागि स्थानीय सरकारहरूसँग निरन्तर समन्वय र सहकार्य गरिने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ । संघको कार्यालयमा दक्ष कर्मचारीसहितको व्यवसाय सहायता कक्ष सञ्चालनलाई नियमितता दिइने र स्थापना भएका उद्यम व्यवसायहरूको अनुगमन गरी आवश्यक परामर्श दिने कार्यलाई नियमित वार्षिक कार्यक्रमभित्रै व्यवस्थित गरिएको अधिकारीले जानकारी दिनुभयो ।

