धादिङ। धादिङको गल्छी गाउँपालिका–१, नयाँबारीका महिलाहरु व्यावसायिक भैंसीपालनबाट दुध उत्पादन गरी आत्मनिर्भर बन्न थालेका छन् ।
परम्परागत ढंगबाट पशुपालन गर्दै आएका महिलाले आधुनिक प्रविधिको प्रयोग र उन्नत गोठ व्यवस्थापन सुरु गरेसँगै दुध उत्पादन बढाएर आम्दानी गर्न थालेका हुन् । पहिले घरमा खानका लागि मात्र एउटा भैंसी पाल्ने महिलाहरुले अहिले व्यावसायिक रूपमा उन्नत जातका भैंसी पालेर राम्रो आम्दानी गर्न थालेका छन् ।
वर्षौंदेखि भैंसी पालन गर्दै आउनुभएकी स्थानीय किसान धनकुमारी भट्टराई भन्नुहुन्छ, “पहिले दुध बेच्ने र आम्दानी लिने भन्ने चलन नै थिएन, अहिले त दुध विक्रि गरेर राम्रो आम्दानी भइरहेको छ र हाम्रो कमाउने मुख्य पेशा नै यही बनेको छ ।”
हाल गाउँका करिब ५० जना महिला किसानले दैनिक रूपमा दुध विक्रि गरिरहेका छन् । गाउँमै दुध संकलन केन्द्र संचालनमा ल्याएका छन् । दुध विक्रिको लागि बजार धाउनुपर्ने र उचित मूल्य नपाउने वर्षौंदेखिको समस्या पनि समाधान भएको छ । फ्याटको आधारमा मूल्य पाउन थालेपछि महिलाहरु खुसी भएका छन् ।
संकलन केन्द्रमा आधुनिक मेसिनबाट दुधको गुणस्तर र चिल्लोपना परीक्षण गरी मूल्य पाउन थालेपछि किसानहरु ढुक्क भएका छन् । संकलन केन्द्रमा अहिले दैनिक करिब दुई सय लिटर दुध जम्मा हुने गरेको छ । एक जना किसान दैनिक ३५ लिटरसम्म दुध विक्रि गर्दै आएका छन् ।
गाउँमा सेतीदेवी कृषक समूह गठन गरेर यहाँका महिलाहरुले भकारो सुधार, गोठ व्यवस्थापन र पशुवस्तुलाई सन्तुलित खानपान गराउनुपर्ने विषय राम्ररी बुझेका छन् । दुहुनो भैंसीलाई दिइने खानपान र गोठ सुधारमा विशेष ध्यान दिनुपर्ने कुरा पनि बुझेका छन् ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना फानसेपले किसानलाई उन्नत जातका घाँसका बीउ वितरण र पशु पालनमा प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि महिलाहरुमा दुध उत्पादनप्रति अझ बढी हौसला मिलेको हो । फानसेपले आधुनिक पशुपालन, पोषण व्यवस्थापन, गोठ तथा भकारो सुधार सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको समूहकी अध्यक्ष गीता मगरले बताउनुभयो ।
फोहोर गोठले गर्दा थुनेलो रोग लाग्ने जोखिम हुने भएकाले अहिले यहाँका किसानहरुले गोठ सुधार गरी भुइँ पक्की बनाउने र मूत्र संकलन गर्ने प्रविधि अपनाएका छन् ।
“पशुलाई पनि मानिसलाई जस्तै नियमित सरसफाइ, सन्तुलित आहार र उचित हेरचाह आवश्यक पर्ने रहेछ”, सेतीदेवी कृषक समूहकी सचिव शान्ता कार्की भन्नुहुन्छ–“दुहुनो भैंसीलाई सुख्खा पराल मात्र दिएर नहुने रहेछ, हरियो पोषिलो घाँस र भिटामिनयुक्त दानापानी नियमित दिन थालेपछि दुधको परिमाण र गुणस्तर दुवै बढेको छ ।”
पहिले एउटा भैंसी पाल्ने किसानले अहिले दुईओटासम्म पाल्न थालेका छन् । दुईओटा भैंसी पाल्नेले चारओटा सम्म पाल्ने वातावरण बनेको छ । घरमै बसेर दुध बेचेर घरखर्च चलाउन र बचत गर्न सकिने भएपछि यसले व्यावसायिक पशुपालन प्रति महिला किसानहरुको आकर्षण बढाएको छ ।
