काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले मौलिक हक कार्यान्वयन, विपद् व्यवस्थापन र सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधानलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकको विशेष समयमा रास्वपा सांसद प्रभा कार्कीले उद्योग, होटल तथा कर्पोरेट क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको उल्लेख गर्र्दै नेपाली श्रम बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सांसद अभिशेषकप्रताप शाहले अमेरिकाको सानफ्रान्सिस्कोमा रहेको महावाणिज्य दूतावास बन्द गर्ने निर्णय फिर्ता लिन माग गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गुरुप्रसाद बरालले संविधानप्रदत्त मौलिक हकको कार्यान्वयनमा गम्भीर बन्न सरकारलाई सुझाव दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले डोल्पा जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले विद्युतीय सवारी साधनको आयातका क्रममा कर छली भएको आशङ्का बढ्दै गइरहेको उल्लेख गर्दै सो सम्बन्धमा छानबिन गरी राजस्व सङ्कलन गर्न सुझाव दिनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सशस्त्र प्रहरी जवान र हबल्दारलाई १६ वर्षमा पेन्सन पाउने व्यवस्था गर्न माग गर्नुभयो ।
रास्वपाका सांसद प्रमिला कुलुजुले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई मताधिकार दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।
कांग्रेस सांसद कालीबहादुर सहकारीले कर्णाली क्षेत्रको समग्र विकासमा विशेष योजना बनाउन सुझाव दिनुभयो ।
रास्वपा सांसद करिष्मा कठरियाले सिकलसेल तथा अन्य अनुवांशिक रक्तविकारबाट प्रभावित बिरामीको संवैधानिक स्वास्थ्यको हक कार्यान्वन गर्न आग्रह गर्नुभयो ।
रास्वपा सांसद आनन्दबहादुर चन्दले खेती प्रणाली, माटो परीक्षण, मल बीउको उपयोगलगायत विषयमा किसानलाई तालिम दिनुपर्नेमा जोड दिनुभयो ।
सोही दलका जगदीश खरेल (दोलखा) ले जनप्रतिनिधिलाई नटेर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । सोही पार्टीका सांसद खगेन्द्र कर्णले सामुदायिक शिक्षामा लगानी अभिवृद्धि गर्न सुझाव दिनुभयो ।
रास्वपा सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्जका तारे होटलमा सञ्चालित क्यासिनोमा प्रहरी र प्रशासनको मिलेमतोमा नेपाली नागरिकलाई पनि सहजै प्रवेश गराइएको भन्ने गुनासो छानबिन गर्न माग गर्नुभयो । सोही दलका सांसद सृष्टी भट्टराईले राष्ट्रिय राजमार्गमा ढाट राखेर अवैध असुली गर्नेमाथि कारबाही गर्न माग गर्नुभयो ।
सोही पार्टीका सांसद सिर्जना श्रेष्ठले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारसम्बन्धी फाइल तत्काल अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
रास्वपा सांसद बोधनारायण श्रेष्ठले रासायनिक मल वितरणसम्बन्धी समस्या समाधान गर्न आग्रह गर्नुभयो । सोही पार्टीका टेकबहादुर शाक्यले पर्साको ठोरी, जानकीटोला र भिष्वा छोटी भन्सार तत्काल सञ्चालनमा ल्याई सीमावर्ती क्षेत्रका नागरिकलाई भन्सार प्रशासनमा सहजीकरण गर्न सुझाव दिनुभयो ।
सोही पार्टीका बदनकुमार भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखालका अजित मिजार अन्तरजातीय विवाहका कारण २०७३ असार २९ गते मृत फेला परेको घटनाका बारेमा छानबिन गरी पीडित परिवारलाई राहत दिन माग गर्नुभयो ।
सोही दलका सांसद सूर्यबहादुर तामाङले वर्तमान सरकारले १०० दिनमा जनअपेक्षा पूरा गर्न सफल भएको दाबी गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0