धादिङमा वन कार्यालयले बाड्यो एक वर्षमा झण्डै एक लाख बिरुवा
गंगा सुनार

असार २६, २०८३

धादिङ । डिभिजन वन कार्यालय धादिङले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा झण्डै एक लाख थान बिरुवा निःशुल्क वितरण गरेको छ । वन क्षेत्रमा वृक्षारोपण गर्न, उजाड जमिनलाई हरियाली बनाउन, खाली रहेका निजी जग्गामा वृक्षरोपण बढाउन तथा फलफूल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ती बिरुवा वितरण गरिएको हो ।

यस आर्थिक वर्षको अन्तिमसम्ममा डिभिजन वन कार्यालय धादिङबेसीबाट ५८ हजार १४ र सब–डिभिजन वन कार्यालय गजुरीबाट ४१ हजार गरी कुल ९९ हजार १४ थान बिरुवा निःशुल्क वितरण गरिएको वन अधिकृत एवं सूचना अधिकारी दीपकप्रसाद पुडासैनीले जानकारी दिनुभयो । यो संख्या कार्यालयले लिएको वार्षिक लक्ष्यको शतप्रतिशत उपलब्धि हो ।

कार्यालयका अनुसार धादिङबेसीस्थित नर्सरीबाट चिउरी, कल्की फूल, खयर, पलाँस, धुपी, कपुर, अम्बा, कफी, बर, पिपल, अमला, निमारो, चाँप, तेजपत्ता लगायतका १७ भन्दा बढी प्रजातिका बिरुवाहरू वितरण गरिएको छ । त्यस्तै, गजुरी सब–डिभिजन वन कार्यालय गलौदीको नर्सरीबाट मेवा, लप्सी, खयर, सिसौ, रिठ्ठा, तेजपात, टाँकी, कोइरालो, चिउरी, इपिल–इपिल र गुलमोहर प्रजातिका बिरुवाहरू वन उपभोक्ता समूह, कृषक, स्थानीय तह तथा सर्वसाधारणलाई वितरण गरिएको छ ।

बिरुवा वितरण प्रक्रियालाई व्यवस्थित बनाउन वन उपभोक्ता समूह वा संस्थाहरूको हकमा आधिकारिक पत्र र व्यक्तिगत रूपमा लैजानेहरूका लागि नाम टिपाएर दिने व्यवस्था मिलाइएको छ । साथै, कुनै व्यक्तिलाई सयभन्दा बढी बिरुवा आवश्यक परेको खण्डमा नागरिकताको प्रतिलिपि अनिवार्य गरिएको सूचना अधिकारी पुडासैनीले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८१-०८२ को तुलनामा यस वर्ष बिरुवा वितरणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष नीलकण्ठ नर्सरीबाट १९ हजार ७ सय ६७ र गजुरी नर्सरीबाट ३ हजार ६ सय ५० गरी जम्मा २३ हजार ४ सय १७ बोटबिरुवा मात्र वितरण गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष सर्वसाधारण र स्थानीय तहको माग बढेकाले उत्पादन र वितरणको दायरा फराकिलो बनाइएको कार्यालयले जनाएको छ ।

वितरण गरिएका बोटबिरुवाहरूको उचित संरक्षण र नियमित हेरचाह गर्न सके वातावरण सन्तुलन राख्नुका साथै वन पैदावारको दिगो उपयोगमा समेत सहयोग पुगेको छ । सर्वसाधारणको उत्साहजनक सहभागितालाई हेरेर आगामी वर्षहरूमा पनि यस्ता हरित अभियान र निःशुल्क बिरुवा वितरण कार्यक्रमलाई निरन्तरता दिने वन अधिकृत पुडासैनीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मनसुनजन्य विपद् प्रतिकार्यका लागि धादिङमा आपतकालिन योजना तयार

धादिङमा वन कार्यालयले बाड्यो एक वर्षमा झण्डै एक लाख बिरुवा

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’

यो पनि पढ्नुहोस
गंगा सुनार