धादिङ । धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका सबै बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि धादिङलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण’ जिल्ला घोषणा गरिएको हो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रमका श्रोतव्यक्ति उत्तम प्याकुरेलले धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्याकुरेलले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउनुभयो ।
जिल्लामा जन्मेदेखि १५ महिनासम्मका तीन हजार सात सय २४ बालबालिका तथा १६ महिनादेखि २३ महिनासम्मका तीन हजार तीन सय ३४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने सबै पालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।