काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति सम्बोधन गरिएको समवेदना पत्र हस्तान्तरण गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले आज कतारको लुसाइल सहरस्थित लुसाइल दरबारमा पुगेर अमिर शेख तामिम बिन हमद अल थानीसमक्ष उक्त समवेदना पत्र हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा उपराष्ट्रपति यादवले पूर्वअमिरको असामयिक निधनप्रति अमिर, शाही परिवार, कतार सरकार तथा कतारका जनताप्रति समवेदना व्यक्त गर्नुभएको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
उपराष्ट्रपति यादवले पूर्वअमिरप्रति श्रद्धाञ्जली अर्पण गर्दै कतारको विकास र समृद्धिका लागि उहाँले पु¥याउनुभएको उल्लेखनीय योगदान तथा नेपाल र कतारबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धको सुदृढ आधार निर्माणमा उहाँले निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्नुभएको थियो । साथै, उपराष्ट्रपति यादवले हालै पश्चिम एशियामा भएको द्वन्द्वका क्रममा नेपाली समुदायको उचित हेरचाह तथा संरक्षण गरेकामा कतार सरकारप्रति धन्यवाद तथा कृतज्ञता समेत व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा उपराष्ट्रपति यादवले सन् २०२४ को अप्रिलमा अमिर थानीले नेपालमा गर्नुभएको राजकीय भ्रमणलाई राष्ट्रपति पौडेलले स्नेहपूर्वक स्मरण गर्नुभएको सन्देश पनि अमिर थानीसमक्ष साझा गर्नुभएको थियो । जवाफमा अमिर थानीले उक्त भ्रमणलाई प्रशंसापूर्वक स्मरण गर्दै त्यसयता आफूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रवर्द्धन गर्दै आएको उल्लेख गर्नुभएको थियो ।
अमिर थानीले नेपाल सरकार तथा नेपाली जनताबाट व्यक्त गरिएको सहानुभूति र ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्दै शोकको यस घडीमा समवेदना सन्देश लिएर भ्रमण गर्नुभएकामा उपराष्ट्रपति यादवप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । उपराष्ट्रपति यादवसँग उपराष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा दोहास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत र अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिरको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न मङ्गलबार कतार प्रस्थान गर्नुभएको थियो । उहाँ भोलि असार ३२ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0