कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो
राष्ट्रिय समाचार समिति

साउन १, २०८३

चितवन।  बर्डफ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादनको खपत बढ्न थालेको छ । देशका विभिन्न ठाउँमा बर्डफ्लू देखिएपछि खपत घटेको थियो । यससँगै घटेको मूल्यसमेत बढ्न थालेको छ ।
बर्डफ्लूका कारण मासुको खपतमा गिरावट आएको थियो । अण्डामा कम प्रभाव परेको भन्दै पूर्ववत् अवस्थामा फर्किन थालेको किसान बताएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत् अवस्थामा आउन थालेको बताउनुभयो । उहाँका अनुसार दैनिक आठ लाख किलो हाराहारी मासु खपत हुने गरेकामा घटेर छ लाख किलोमा झरेको थियो । अहिले पुनःबढ्ने क्रम सुरु भएको छ ।
लामिछानेका अनुसार चल्ला नबिकेर तीन पटकको ह्याच नष्ट गरिएको थियो । ह्याचरी उद्योगहरूले एक हप्तामा दुई ह्याच चल्ला उत्पादन गर्दछन् । ब्रोइलरको प्रतिगोटा रु ९० मा बिक्री भएको चल्ला रु २५ मा बिक्री गर्नुपर्ने बाध्यता थियो । अहिले बढेर रु ४० पुगेको उहाँले जानकारी दिनुभयो ।
ब्रोइलर जिउँदो कुखुरा प्रतिकिलो रु २५० बाट झरेर रु १४० मा आइपुगेको थियो । अहिले बढेर प्रतिकिलो रु १९० पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बर्डफ्लूका कारण परेको प्रभाव न्यून हुँदै गएको छ ।”
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लूका कारण घटेर २८ लाख हाराहारीमा झरेको बताउनुभयो । जेठको अन्तिममा एक क्रेट ९३० वटा० अण्डाको रु ५५० मा बिक्री भएकामा मूल्य झरेर रु ४५० मा आइपुगेको थियो ।
एक क्रेट अण्डाको लागत मूल्य रु ५७३ दशमलव ६० पर्न आउँछ । प्रतिगोटा रु १९ दशमलव १२ पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले बताउनुभयो । व्यवसायीहरूको एकताका कारण ठूलो सङ्कटबाट मुक्त हुने अवस्थामा गएको भन्दै उहाँले प्रभावितहरुलाई राज्यले हेर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठले राम्रोसँग पकाएर खाँदा अण्डा र मासुमा कुनै असर नपर्ने भन्ने सन्देश सबैले पाउन थालेपछि मासु र अण्डाको खपत बढ्न थालेको बताउनुभयो । चितवनमा दुई महिनायता बर्डफ्लू देखिएको छैन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नागढुङ्गा सुरुङमार्गमा दौड

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

पुस्तक समीक्षा ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा

देशभरका छ वटा राजमार्ग अवरूद्ध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति