साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
राष्ट्रिय समाचार समिति

साउन ४, २०८३

काठमाडौँ। यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा आशुतोष भगवान् शिवको पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लाम बढ्दै गएको छ ।

बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको थियो । बिहान ९ः०० बजेपछि भक्तजनको लाम अझ बढेको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाअन्तर्गत मूल मन्दिर हेर्नुहुने विसेट नायके अरुणकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

बिहान ९ः०० बजेसम्म आधा घण्टामा मूल मन्दिरभित्र प्रवेश गरी दर्शन सकेर फर्कने अवस्था रहेकामा अहिले डेढ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो । आज बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएकाले भक्तजनले सहजरुपमा दर्शन गर्नुभयो ।

No data was found

मन्दिरको दर्शन गर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ ।

साउने झरीको वास्ता नगरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्नुभएको थियो । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजाको व्यवस्था गरिएको छ ।

कोषले यस वर्ष रु एक हजारको टीकट लिएमा सुलभ रुपमा दर्शन गर्नसक्ने व्यवस्था समेत गरेको छ । त्यस व्यवस्थाले सहज रुपमा दर्शन गरी काम विशेषले हिँड्नेका लागि सजिलो भएको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पदाधिकारीको नियुक्ति केही दिन अघि मात्रै भएकाले कतिपय विषय व्यवस्थित तुल्याउने सन्दर्भमा भएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गरिने प्रतिबद्धता जनाउनुभयो ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका पदाधिकारी, कर्मचारी, मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाले सहयोग पु¥याइरहेका छन् ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन र पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

बेलुका आरतीपछि ८ः०० बजेसम्म भक्तजनका लागि खुला गर्ने गरी तयारी भएको छ । आज विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने छ । यस वर्ष विशेष पूजाका लागि करिब २५० जनाले रसिद काटेको कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बताउनुभयो । रु तीन हजार १०० र रु सात हजार ५०० को रसिद काटी विशेष पूजाको व्यवस्था मिलाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।

साउनको पहिलो सोमबार आज पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ । यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन् ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले त्यहाँ पूजा, आराधना एवं दर्शन गर्नेले पशुपतिनाथको पूजा र दर्शन गर्नै पर्ने परम्परा छ ।

पशुपतिनाथमा वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट जल बोकेर आउने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ ।

पहिलो सोमबारअर्थात् आज कमै मात्रामा बोलबम यात्री जल लिएर आएको बिसेट नायके श्रेष्ठले बताउनुभयो । साउन ११ र १८ गतेको सोमबार भने बोलबम यात्रा गरेर आउने भक्तजन धेरै हुने गरी कार्यक्रम तय भएको जानकारी पनि उहाँले दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

केही स्थानमा भारी वर्षाको सम्भावना

भ्युजका लागि गुरु–शिष्य सम्बन्धको गरिमा बेच्ने प्रवृत्ति ?

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति