काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँले आज पठाउनुभएको समवेदना सन्देशमास्व पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२र६३ सालको आन्दोलनमा दिनुभएको नेतृत्वदायि भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहिरहेको उल्लेख गर्नुभएको छ ।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ– “२०३६ साल यताको करिब साँढे ४ दशक अवधिमा उहाँको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावि पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ । उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सबै आलोकित गरिरहने मैले विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताउनुभएको छ । राष्ट्रपति पौडेलको समवेदना सन्देश उहाँका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गर्नुभएको थियो । क्यान्सरबाट पिडित पाण्डेको यही साउन १ गते शुक्रबार आफ्नै निवास विशालनगरमा निधन भएको थियो ।