काठमाडौं । वरिष्ठ पत्रकार गोपाल गुरागाईं र वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ पुरस्कृत भएका छन् । समाजवादी प्रेस संगठन, नेपालले गुरागाईं र श्रेष्ठलाई सम्मान गरेको हो ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार राजधानीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा गुरागाईं र श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरे ।
गुरागाईंलाई ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो । त्यस्तै, ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’बाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । ‘प्रदीप नेपाल पत्रकारिता पुरस्कार’ नगद ५० हजार र ‘सुरेश रजक फोटो पत्रकारिता पुरस्कार’ नगर २५ हजारको छ ।

पत्रकार गुरागाई २०३६ सालदेखि पत्रकारितामा सक्रिय छन् भने श्रेष्ठ ४० वर्षदेखि निरन्तर फोटो पत्रकारितामा सक्रिय छन् ।
पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनको हरेक आन्दोलनमा पत्रकारले खेलेको भूमिकाको चर्चा गरे । उनले पत्रकार समाजको ऐना भएको उल्लेख गर्दै निर्भिकताको साथ अगाडि बढ्न आग्रह गरे ।
समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रकारको हकहितमा संगठन केन्द्रित रहेको र नयाँ परिस्थितिमा अझ परिस्कृत भएर अगाडि बढ्ने प्रतिवद्धता जनाए । अग्रज पत्रकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको उनले बताए ।
पुरस्कृत पत्रकार गुरागाईंले विगतका कठिन दिनहरू स्मरण गर्दै संगठनले सम्झिएकोमा धन्यवाद दिए । कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा प्रवक्ता प्रकाश ज्वाला, प्रेस सेन्टरका अध्यक्ष कमल गिरीलगायतको उपस्थिति रहेको थियो ।