काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले देवानगञ्ज घटनाको शान्तिपूर्णरूपमा वार्ताका माध्यमबाट विवादको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको विवादको विषयलाई लिएर आयोगले वार्ता र संवादकै माध्यमबाट विवाद समाधान गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई अनुरोध गरेको हो ।
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ ।
साथै, आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासनतथा स्थानीयहरूसँग घटनाको बारेमा जानकारी लिइरहेको छ भने आयोगले उक्त घटनाको मानव अधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
आयोगले प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सुनसरी घटनापश्चात देखा परेको शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोग सरकारलाई निर्देशन गर्दछ ।”