संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल
राष्ट्रिय समाचार समिति

श्रावण १३, २०८३

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद, सहमति र राजनीतिक समझदारीमार्फत सुनसरीको देवानगन्जमा उत्पन्न परिस्थितिलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उहाँले सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट भई अघि बढ्नुपर्ने बताउनुभयो ।
“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संयोजक दाहालले विषम परिस्थितिमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै संयोजक दाहालले अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता औँल्याउनुभयो ।
उहाँले सुनसरी घटनाका सम्बन्धमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टीपङ्क्तिलाई आवश्यक निर्देशनसमेत दिएको बताउनुभयो ।
संयोजक दाहालले घटनास्थलमा स्थानीय व्यक्तिमात्र होइन, बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च सतर्क रहन आवश्यक रहेको बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

अमेरिकासँग वार्ता नहुने इरानको स्पष्ट अडान

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति